जापानमा दुईजनालाई मृत्युदण्ड

जापानमा दुईजनालाई मृत्युदण्ड


जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ ।

यस वर्ष पहिलोपटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो ।

जापानमा अझै पनि सयजना मृत्युदण्डको पखाईमा रहेका छन् । विश्वका मानवअधिकारवादी व्यक्ति एवं संस्थाहरूसमेतका अन्तर्राष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भए पनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको संवाददातालाई बताए ।

मृत्युदण्ड दिइएकामा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन् । शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो ।

जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो । सन् २०१८ मा पनि १५ जनालाई मृत्युदण्ड दिइएको थियो जसमा सन् १९९५ मा टोकियोमा सरिन ग्यास आक्रमणका दोषी १३ जना पनि रहेका थिए ।

गत वर्ष सन् २०१८ को जुलाईमा ओम शिनरिक्यो सम्प्रदायका पूर्वगुरु शोको आशाहारासमेतलाई मृत्युदण्ड दिइएको थियो ।