२ बर्षभित्रै धरहरा पुनःनिर्माण सक्ने गरी रमण कन्स्ट्रक्शनले ठेक्का हात पार्यो । अहिले धरहरा निर्माणको प्रगति १८ प्रतिशत वरीपरी छ । तर, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सम्झौता भने रमण लत्याएको छ । जसका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले भनेझैं २ बर्षमै धरहरा निर्माण नहुने पक्का भएको छ ।
विगत ७ महिनायता इतिहाससँग जोडिएको धरहरा पुनःनिर्माणको काम भइरहेको छ । धरहरा शिलन्यासका क्रममा गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २ बर्षभित्रै धरहरा निर्माण भइसक्ने विश्वास व्यक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई धरहरा निर्माणको जिम्मा पाएको जीआईईटिसी–रमन जेभीले २ बर्षभित्रै निर्माण सक्ने आश्वासन दिएको थियो । प्रधानमन्त्री र निर्माण कम्पनीकै भनाईलाई आधार मान्ने हो भने २०७७ असोज १९ गतेभित्र धरहरा निर्माण भइसक्नुपर्छ । तर धरहरा निर्माण क्षेत्रको वस्तुस्थिती हेर्ने हो भने तोकिएको समयमा लक्ष्य पूरा नहुने हो की भन्ने आशंका उब्जिएको छ ।
प्राधिकरणका सम्पदाविद् राजुमान मानन्धर पनि निर्माणस्थल खाली नगर्दा तोकिएको समयमा निर्माण नसक्ने आशंका ब्यक्त गर्छन् । ‘सरकारले समयमा गोश्वरा हुलाक र टक्सारलाई व्यवस्थापन नगर्दा काममा ढिलाई भएको चाँही हो ।’ सम्पदाविद् मानन्धरले भने, ‘ठूला संरचना नहटाउँदा काममा केही बाधा आइपरेको छ ।’
अहिले सुन्धारास्थित धरहरा क्षेत्रमा नयाँ धरहराको ‘फाउन्डेशन’ सकिएको छ । निर्माण कम्पनी गोलो धरहराको स्वरुपलाई बाहिर निकाल्ने तयारीमा छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग भएको सम्झौताअनुसार निर्माण कम्पनीले काम भने गर्न सकेको छैन् । प्राधिकरण र निर्माण कम्पनीबीच काम सुरु गरेको ६ महिनाभित्र अपर बेसमेन्ट स्ल्याब र अण्डरगाउण्ड पार्किङ तयार गर्नुपर्ने, ९ महिनाभित्र टावरको १० तलासम्म ठड्याउनुपर्ने, र १२ महिनाभित्र धरहराको बाँकी तलाहरुको काम सक्नुपर्ने सम्झौता थियो । तर अहिले सम्झौता अनुरुपको काम भने नभएको जानकारहरु बताउँछन् ।
रमणले धरहराको काम सुरु गरेको पनि ९ महिना पुरा भइसकेको छ । तर निर्माण कम्पनी अहिलेसम्म फाउन्डेशनको काममै अल्झिएको छ । आयोजनाका प्रमुख श्यामचन्द्र श्रेष्ठ पनि आन्तरिक संरचना निर्माणका कारण ढिलाई भएको बताउँछन् । धरहराको अफ्ठेरो काम सकिएकोले अब काम छिटो अघि बढने उनको दावी छ । ‘असजिलो भागको काम सकिएकोले अब फटाफट काम अघि बढ्छ ।’ उनले भने, ‘हामी धरहरा निर्माणसँगै यो सँगै अन्य काम पनि अघि बढाउने तयारीमा छौं ।’
रमणको कामप्रति प्रधानमन्त्री समेत सन्तुष्ट छैनन् । निर्माण कम्पनी भने सरकारले समयमा गोश्वरा हुलाक र टक्सारलाई व्यवस्थापन नगर्दा काममा ढिलाई भएको बताउँदै आएको छ । धरहरा निर्माणमा अहिलेसम्म ४८ करोड खर्च भइसकेको र १८ प्रतिशत भौतिक प्रगति सकिएको निर्माण कम्पनीको दावी छ । बाहिरबाट हेर्दा ११ तला र भित्रबाट २२ तलाको बन्ने धरहराको संरचना तीन अर्ब ४५ करोडको लागतमा निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया