पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानमा

पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानमा


अर्को वर्ष आयोजना हुने ओलम्पिक खेलकुदलाई लक्षित गर्दै राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षण जापानको मिकिसिटी सहरमा हुने भएको छ ।

जापानको मिकिसिटी सहरले एक साताका लागि पारा टोलीको प्रशिक्षण मिलाइएको हो । मिकिसिटीका मेयर काजुहिकुु नाकाताको विशेष निमन्त्रणामा पारा टोली त्यसतर्फ जान लागेको छ । नेपालबाट तीन ग्यरोगी र दुई पुम्से खेलाडी प्रशिक्षणमा सहभागी हुनेछन् ।

प्रशिक्षणका लागि जापान जाने खेलाडीहरूमा पलेसा गोवद्र्धन, दीपेश महत, रोहितहाङ राई, विक्रम श्रेष्ठ र सुवासचन्द्र राई छन् । त्यस्तै, प्रशिक्षकमा कविराज नेगी लामा, व्यवस्थापकमा रोशन श्रेष्ठ र टोली नेतामा रामचन्द्र श्रेष्ठ छन् । नेपाली खेलाडीको बस्ने र खाने व्यवस्था मिकिसिटी महानगरपालिकाले गर्ने छ ।

नेपाली टोलीले अगष्ट ५ देखि १२ तारिखसम्म प्रशिक्षण गर्ने छ । नेपाल तेक्वान्दो संघसँग भएको सम्झौता अनुसार नेपाली पारा खेलाडीले जापानमा दुई चरणमा प्रशिक्षण गर्ने छन् । नेपाली टोली पहिलो चरणको प्रशिक्षणका लागि जापान जान लागेको हो ।