अमेरिकी सपिङ मलमा गोली चल्दा २० मारिए

अमेरिकी सपिङ मलमा गोली चल्दा २० मारिए


अमेरिकाको टेक्सास राज्यको एल पासोस्थित एक व्यस्त वाल्मार्ट सपिङ मलमा एक युवाले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त गोलीकाण्डमा अरू २६ जना सख्त घाइते भएका छन् । गोली चलेका बखत उक्त सपिङ मलमा अन्दाजी तीन हजार मानिस भेला भएका थिए । नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा आफ्ना स्कुले केटाकेटी लिएर शनिबार ठूलो संख्यामा अभिभावकहरू मलमा जम्मा भएका थिए ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती व्यक्तिले घटना हुनुअघि फेसबुकमा राखेको सन्देशमा आफूलाई आप्रवासी अमेरिकीप्रति घृणा रहेको बताएका थिए । एस पासोका प्रहरी प्रमुख ग्रेग अलेनले वाल्मार्टबाहिर ती संदिग्ध व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको बताए । मेक्सिको सीमाबाट करिब ८ किलोमिटरभित्र उक्त वाल्मार्टको सपिङ मल रहेको थियो ।

एसोसिएटेड प्रेससँग कुरा गर्दै स्थानीय अधिकारीले गोली चलाउने व्यक्ति २१ वर्षीय प्याट्रिक क्रुसिएस रहेको बताएका छन् । तर, एल पासो प्रहरीले ती व्यक्तिको नाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन । उनी अर्को अमेरिकी राज्य डल्लासबाट त्यहाँ आएको बताइएको छ । प्रहरीका अनुसार वाल्मार्टभित्र रहेका व्यक्तिहरू सबैभन्दा बढी पीडित भएका छन् । प्रहरी प्रमुख अलेनले भने, ‘यहाँको दृश्य अति नै भयावह छ ।’ गोली लागेका अरू २६ जनाको स्वास्थ्य अवस्था पनि निकै गम्भीर रहेको उनले बताए ।

प्रहरीले घाइतेहरूका लागि रगतको अभाव रहेको सूचना सार्वजनिक गर्नुपरेको थियो । प्रहरी र सेनाले तनावमा रहेका नागरिकलाई सान्त्वना दिन प्रयास गरेका थिए । ‘अहिले यहाँको वातावरण आतंकित गर्ने किसिमको छ,’ सैनिक स्वास्थ्यकर्मी अस्टिन जोन्सनले भने । वाल्मार्टको महिलाको लत्ताकपडा किन्ने ठाउँमा दुई बच्चासँग रहेकी ३९ वर्षीया एड्रियाना क्वुजेदाले भनिन्, ‘निरन्तर हिर्काएको आवाज आइरहेको थियो, मानौँ कुनै निर्माणको कार्य भइरहेको थियो ।’

उनका १९ वर्षीया छोरी र १६ वर्षीय छोरा दुवैजना भुइँमा सुतेका थिए । त्यसपछि उनीहरू दुवै आपतकालीन ढोकाबाट बाहिर भागेका थिए । क्वुजेदाले भनिन्– भाग्यवश दुवैजना सकुशल बाहिर निस्किए । उनले कालो कपडा लगाएका चार व्यक्तिले जथाभावी गोली चलाएको बताइन् । तर, प्रहरीले घटनामा एक व्यक्ति मात्र रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विट गर्दै ‘भगवान तपाईंहरूको साथमा हुनुहुन्छ’ भनेका छन् ।

घटनाप्रति डेमोक्य्राट पार्टीका सबैजसो नेताहरूले एल पासो गोलीकाण्ड अमेरिकी इतिहासकै कालोधब्बा भन्दै अमेरिकी बन्दुक कानुनमा तत्काल संशोधन गर्नुपर्ने आवाज उठाएका छन् । एल पासोका मेयर डी मार्गोले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए । संदिग्ध व्यक्ति क्रुसियसले फेसबुकमा लेखेको भनिएको सन्देशको पनि छानबिन भइरहेको मेयर मार्गोले जानकारी दिए । उक्त सन्देशमा हिस्पानिक समुदायका व्यक्तिहरू अमेरिकामा ठूलो संख्यामा आप्रवासीका रूपमा प्रवेश गरेकोप्रति रोष प्रकट गरिएको छ । सन्देशमा हिस्पानिक समुदायका कारण आगामी राष्ट्रपतीय चुनावमा टेक्सास राज्य डेमोक्य्राट पार्टीको पोल्टामा पुग्ने पनि जनाइएको छ ।

सन् २००६ यता ११ पटक ठूलो जनसमुदायमाथि बन्दुक आक्रमण भएको छ । यी घटनामा संलग्न व्यक्तिहरू प्रायः २१ वर्षको हाराहारीका रहेका छन् । सन् २०१९ मा मात्र भिडभाड स्थलमा भएका आक्रमणबाट ९६ जनाको ज्यान गइसकेको छ ।

एक साताभित्रै अमेरिकामा भएको यो दोस्रो गोलीकाण्ड हो । यसै साता गिलरोए गार्लिक मेलामा एक १९ वर्षीय युवाले जथाभावी गोली चलाउँदा तीनजनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए ।
ap