■ पुनहरि बेल्बासे, भैरहवा
नेपाल आयल निगमद्वारा सञ्चालित भैरहवाको अञ्चलपुरमा सुविधासम्पन्न पेट्रोल पम्प सञ्चालनमा आएको छ । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले गत शुक्रबार (साउन २७) उक्त पम्पको उद्घाटन गरेका हुन् ।
निगमको जग्गामा पुनर्निर्माण गरी सञ्चालनमा ल्याएको आफ्नै कर्मचारीहरु संलग्न हुने यस पेट्रोल पम्प प्रतिघण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल वितरण गर्न सक्ने क्षमताको छ । अत्याधुनिक प्रविधि जडान गरी निर्माण गरिएको पेट्रोल पम्म सौर्य उर्जाबाट सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।
सुरुको अवस्थामा दैनिक १६ घण्टा सेवा दिने र केही समयपछि २४सै घण्टा सेवा प्रदान गर्ने गरी साउन १७ देखि उक्त पम्प सञ्चालनमा ल्याएको हो । घामपानीबाट पेट्रोलियम उपभोक्ताहरुलाई बचाउन ९ सय वर्गमिटरको क्षेत्रफलमा भएको अग्नीप्रतिरोधक एल्मिनियम कम्पोजिट मेटिरियलबाट छाना निर्माण गरिएको छ भने पेट्रोल पम्प परिसरको अग्नी नियन्त्रणको लागि दुईओटा ७० किलोग्राम र ८ ओटा १० किलो क्षमताको ड्राइ केमिकल पाउडर सहितको फायर एक्टिङगुइसरको व्यवस्था गरिएको व्यवस्थापन पक्षले जनाएको छ ।
पम्प उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवले पेट्रोलियम पदार्थ भण्डारका लागि सातओटै प्रदेशमा ठूला डिपोहरु खोल्ने योजना रहेको बताए । पेट्रोलियम पदार्थ चुहावटका काम कोही कतै भएको जानकारी पाएमा कानुनसम्मत ढङ्गबाट कारवाही अगाडि बढाइने पनि उनले चेतावनी दिए ।
देशका लागि आवश्यक पर्ने इन्धन पुऱ्याउन सरकार अध्ययन गर्दै अगाडि बढ्ने बताउँदै विषादि परीक्षणको तयारीबिना अगाडि बढेकोले सरकार असफल भएको मन्त्री यादवले स्वीकार गरे । विषादी परीक्षणमा असफल भएको सम्बन्धमा उनले भने, ‘हामी मन्त्रीहरु कम पढेका छौँ, पढेकाले के के लेखेछन्, अध्ययन नै नगरी सुरुवात गर्न पुगियो । यही कुरालाई मिडियाले आक्रामक रुपमा फैलाइदिए ।’
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले रुपन्देही हरेक कुराको हब रहेको बताउँदै पेट्रोलियम पदार्थको पनि हबको रुपमा विकास गर्ने बताए । उनले भने, ‘सातओटै प्रदेशमा तेलको डिपो राख्ने सरकारको निर्णय भएकोले अहिले पहिलो चरणमा झापा र धनुषामा यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम अगाडि बढेको छ ।’
भैरहवाको अञ्चलपुरमा सञ्चालित पेट्रोल पम्प नेपाल आयल निगमबाट सञ्चालित नेपालकै ठूलो पेट्रोल पम्प रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । बर्षाको समयमा समेत एकैपटक ६ ओटा गाडीमा डिजेल तथा पेट्रोल हाल्न मिल्ने आधुनिक पेट्रोल पम्म रहेको बताउँदै पेट्रोल पम्पमा गाडीमा तेल हाल्दै गर्दा अटो बिलिङ हुने भएकोले चुहावट नहुने गोइतले जनाए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का वन तथा वातावरण मन्त्री लीला गिरी, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले प्रदेशको नामाकरण गर्न नहुने बताउँदै उद्योगिहरुका समस्यालाई केन्द्र सरकारले छिट्टै समाधान गर्ने कार्यमा लाग्नु पर्ने बताए ।
प्रतिक्रिया