राजेश र मनीषाको जम्काभेट-राजन घिमिरे

राजेश र मनीषाको जम्काभेट-राजन घिमिरे


अभिनेता राजेश हमाललाई एउटा आरोप छ- उनी आफ्नो सिनेमाको प्रचार-प्रसारमा जानु त परै जाओस् शुभ-साइतमा समेत उपस्थित हुन मान्दैनन् । तर, उनीमाथि लागेको यो आरोप यतिबेला मित्थ्या सावित भएको छ । उनकै नाममाथि बनेको र यतिबेला बहुप्रतीक्षित सिनेमाको रूपमा लिइएको चलचित्र मेरो राजेश दाइको प्रचार-प्रसारका लागि हमाल हात धोएर लागेका छन् । अन्य सिनेमाभन्दा आफ्नो नाम पनि जोडिएको र क्यारियरकै कुरा भएकोले मेरो राजेश दाइको प्रचार-प्रसारका निमित्त दिलोज्यानले लागेका हमाल यसै सिनेमाको नामअङ्कित टिसर्ट लगाएर गत साता नेपाल टेलिभिजनको चर्चित रियालिटी सो छमछमीमा पुगे । त्यहाँ उनले चलचित्र मेरो राजेश दाइको बारेमा बोलेनन् मात्र सहभागीसँग खुलेर नाचे पनि ।
यसरी आफूलाई चित्तबुझने चलचित्र बनेमा राजेश हमाल त्यस्ता चलचित्रलाई दर्शकमाझ पुर्‍याउने मामिलामा खुलेरै लागिपर्दा रहेछन् भन्ने कुराको गतिलो उदाहरण पेस गरे हमालले यो हप्ता ।
भदौ १४ गतेदेखि काठमाडौंबाहिरबाट भव्य प्रदर्शन गर्ने तयारीमा जुटेको चलचित्र मेरो राजेश दाइ हेर्न यतिबेला दर्शकहरू व्यग्र प्रतीक्षारत छन् । ऋषि न्यौपानेको निर्देशनमा सन्देश बराइली र अर्जुन केसीले यो चलचित्रको निर्माण गरेका छन् । राजेशको अलावा शीतल केसी, अरुणिमा लम्साल, हेमन्त बुढाथोकी, दिनेश शर्मा र रामचन्द्र अधिकारीको यसमा प्रमुख भूमिका रहेको छ ।
आफ्नो नाममाथि निर्माण भएको चलचित्र मेरो राजेश दाइको प्रचारप्रसार गर्न सो चलचित्रको युनिटले आयोजना गरेको हरेक कार्यक्रममा आफ्नो सक्रिय सहभागिता जनाइरहेका हमाल यो हप्ता चलचित्र मेरो राजेश दाइले तपोवनबाट केही टाढा रहेको मातृ नेपाल बालगृहमा आयोजना गरेका एक कार्यक्रममा पुगे । त्यहाँ उनले अनाथ बालबालिकालाई खाना खुवाउनुका साथै कपी-कलम उपहार दिए । साथमा थिए यो चलचित्रका निर्माताद्वय अर्जुन केसी र सन्देश बराइली । निर्देशक ऋषि न्यौपाने र अन्य कलाकारहरू शीतल केसी, हेमन्त बुढाथोकी र रामचन्द्र अधिकारीको उपस्थितिले पनि सो बालगृहमा एउटा छुट्टै रौनक थपिएको थियो ।
सो बालगृहमा कार्यक्रम सकाएर काठमाडौं फर्कन लागेका हमालको ओशो तपोवननजिक आएपछि ‘मुड चेञ्ज’ भएछ । अनि उनले ओशो छिर्ने प्रस्ताव मात्र राखेनन् कि चलचित्रका अन्य सदस्यहरूलाई पनि आफूसँगै ओशोमा लगे । राजेश हमाल आएको थाहा पाएपछि ओशोका स्वामी अरुण उनलाई स्वागत गर्न आइपुगेका थिए । ‘म एघार वर्षअगाडि यहाँ आएको थिएँ । अहिले एघार वर्षपछि फेरि आएँ,’ हमालले भने ।
राजेश त्यहाँ आएको थाहा पाएपछि ओशोका अन्य सदस्यबीच खैलाबैला नै मच्चिएको थियो । राजेश हमाल ओशो तपोवनमा छिरेका के मात्र थिए त्यहाँ त नायिका मनीषा कोइराला पनि पुगेकी रहिछिन् पहिले नै । दुवैको जम्काभेट भयो ओशोमा । हामीले राजेशलाई सोध्यौँ, ‘मनीषासँग भेट गर्ने तपाईंको योजना त होइन ?’ ‘होइन-होइन, यो कुनै योजना होइन । म पनि सरप्राइज भएँ । यसलाई संयोग नै मानौँ,’ राजेशले भने । केवल घुम्नका लागि मात्र ओशो पुगेका हमालले त्यहाँ करिब तीन घन्टा बिताए । ‘यसो हेरौँ भनेर आएको थिएँ तीन घन्टा बितेको त पत्तै पाइनँ,’ हमालले बताए । उता मनीषा यसो भन्दै थिइन्, ‘तीन वर्षअगाडि चलचित्र धर्मा सँगै खेलेका थियौँ । अहिले भेट भयो, आजको दिन रामै्र रहेछ ।’

शोभाको तिम्रै लागि…सबैका लागि भो
यस वर्ष तिजको अवसर पारेर बजारमा करिब दुई सय शर्षिकका अलग-अलग तिज-गीतका एल्बम निस्किए । बाढी आएझैँ यतिका सङ्ख्यामा एलबम बजारमा आएपछि श्रोता रनभुल्ल त पर्ने नै भए । कुन सुन्ने कुन
नसुन्ने † तथापि, लोकगीत-संगीतका पारखी बनिसकेका नेपाली श्रोताले दुई सयबाट छानेर एक हातको औंलामा गन्न सकिने संख्यामा मात्र तिजका गीत मन पराइदिए । र, सबैलाई उछिनेर तिनै सीमित भाग्यशाली गीत तथा भाग्यमानी कलाकार/मोडलमध्येकी एक बन्न पुगिन्- शोभा त्रिपाठी ।
बितेको साल आफ्ना दुईवटै एलबमका लागि निकै प्रशंसा बटुलेकी शोभाले यो साल त झन् ‘तिम्रैलागि हो’मार्फत धुम नै मच्चाइन् । आठ हजार पिस भीसीडी बिक्री भइसकेको र बिक्रीको क्रम जारी रहेको बताउने शोभा सीआरबीटीमा पनि आफ्ना गीत उत्तिकै डाउनलोड भएको दाबी गरि्छन् । यसरी सीडीको बिक्रीका कारण यस वर्ष अडियो एलबमहरू मारमा परेको उनको कथन छ । आफूले भने बुद्धि पुर्‍याएर अडियो एलबम धेरै ननिकालेको पनि उनले बताउन भ्याइन् । जे होस्, प्रतिस्पर्धात्मक बजारमा आफ्नो एलबमले धुम मच्चाएपछि नवोदित कलाकार शोभा दङ्ग छिन् यतिबेला ।

मलेसियामा करिश्माको छमछमी
नेपाल पर्यटन वर्ष २०११ को प्रवर्द्धन गर्ने उद्देश्यले नेपालका ख्यात्रि्राप्त कलाकारहरूले मलेसियामा चारदिने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् । प्रवासी मगर सङ्घको आयोजनमा मलेसियाको जेहोरबारु, क्वालालम्पुर, पेनाङ, पोर्ट केलाङमा गरी चार स्थानमा नेपाली कलाकारले प्रस्तुति दिएका हुन् । नेपाली कलाकारको टोलीमा विख्यात अभिनेत्री करिश्मा मानन्धर, गायक क्रान्ति आले, सुमन बुढामगर, मुना थापामगर, एङ्कर संगीता श्रेष्ठ, डान्सर अनिता रञ्जितकार, हास्यकलाकार सुशीलकुमार थापा र नेपालका होचा व्यक्ति खगेन्द्र थापाको समेत सहभागिता थियो भने नेपाली कलाकारको प्रस्तुतिको कोरियोग्राफी गोविन्द राईले गरेका हुन् । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको सो कार्यक्रमलाई नेपाल वायुसेवा निगम र पर्यटन बोर्डले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

मेलिना मिलेपछि फलिफाप
एक समय नायक मुकेश ढकाललाई बाटोमा हिँड्दा देख्नेहरू भन्ने गर्दथे- ‘ऊ नायिका मेलिना मानन्धरको श्रीमान् ।’ यस्तो अभिव्यक्ति आउँदा पनि मुकेश हाँसीहाँसी हिँड्थे । तर आज उनको परिचय फेरिएको छ । आज यतिबेला हटकेट नायक बनेका मुकेशको नामबाट मेलिना चिनिन थालेकी छिन् । ‘मेलिनाको श्रीमान् म र मेरी श्रीमती मेलिना जे भनेपछि हामी एकै हौँ । हाम्रो मन, तन अनि माया, हौसला, जाँगर र उत्साह एकै हो,’ यसै भन्छन् मुकेश ।
हालै मात्र नयाँ कार खरिद गरेका मुकेश मेलिनासँगको वैवाहिक सम्बन्धपछि ‘फलिफाप’ भएको कुरा स्वीकार गर्छन् । ‘लक भन्ने कुरा हुँदोरहेछ । म यो कुरामा विश्वास गर्छु कि उनीसँग विवाह गरेपछि रामै्र-राम्रो मत्र भएको छ,’ मुकेश दङ्ग छन् । त्यो कुरा मेलिना पनि स्वीकार गरि्छन् । ‘मैले मेरो मन अनि भावना बुझ्ने श्रीमान् पाएकी छु । यो अर्थमा आफूलाई लक्की पनि ठान्छु भने उनीसँग जीवन-यात्रासँगै काम पनि बढी नै पाउनुलाई म सम्बन्धको सुखद परिणाम मान्दछु ।’
सिनेमाको रङ्गीन दुनियाँ ‘हट केक’ नायक मुकेश ढकालबारे भन्ने गरिन्छ, ‘उनी अलि बढी नै लजालु स्वभावका छन् ।’ हामीले उनलाई प्रश्न सोध्यौँ, ‘मेलिनाका कारण लजालु भएको त होइन -‘ उनले यो कुरा नकार्द जवाफ दिए, ‘होइन, होइन । फिल्म लाइनमा आउनुअगाडि नै मेरो यस्तै हो व्यवहार । महिलासँगको सम्बन्धबाट त म धेरै कोष टाढा नै छु । कामलाई ध्यान दिऊँ, यताउता नलागौँ भन्ने सोच हो मेरो ।’
विशेष गरेर प्रेमकथामाथि आधारित चलचित्रहरूका लागि पहिलो छनोटमा गर्ने मुकेश निर्माता, निर्देशकहरूसँगको व्यवहारका कारण पनि उनीहरूका लागि प्रिय नायक बनेका छन् । यो हिरोइन चाहिन्छ अनि यो निर्देशक चाहन्छ भनेर ‘डिमान्ड’ गर्ने केही अव्यावसायिक नायकहरूको भीडमा केवल कामलाई मात्र महत्त्व दिने मुकेशको फिल्मी क्यारियर हाल प्रगतितर्फ उन्मुख रहेको छ ।

बाबुको भूमिकामा छोरो
भजन शिरोमणि भक्तराज आचार्य यतिबेला गाउन सक्दैनन् । तर, उनले गाएको गीत आज पनि नेपाली श्रोताहरूमाझ ताजै छ । आचार्यले जति गीत गाए ती सबै हिट नै गाए । उनले त्यो बाटोलाई पछ्याइरहेका छन् दुई सन्तान सत्यराज र स्वरूपराजले । यी दुई बाबुको आवाजलाई अजर र अमर राख्न मात्र लागिपरेका छैनन् कि आफ्ना बाबुले नेपाली साङ्गीतिक क्षेत्रमा दिएको त्याग र योगदानलानई चिरस्मरणीय बनाउन भावी पुस्ताका निमित्त दस्तावेज बनाउन यतिबेला दिलोज्यानले लागिपरेका छन् ।
भक्तराज आचार्यको योगदानलाई युगौंयुगसम्म बचाइराख्न अनि उनको सम्मानार्थ एउटा चलचित्र बनेको छ यतिबेला । सिनेमा हो आचार्य । यसै साता यो सिनेमाको गीति क्यासेटको विमोचन गरियो भने कार्यक्रममा भक्तराज आचार्यको मत्र होइन आचार्यका दुई छोरा सत्यराज र स्वरूपराजको खुलेर प्रशंसा पनि गरियो । ‘यो चलचित्रमा बुबाको जीवनका कुराहरू समेटिएका छन् । अनि उहाँको योगदान र र्समर्पणका पक्षहरू पनि प्रशस्त छन्,’ सत्यराजले भने । चलचित्र आचार्यमा सत्यराज नै भक्तराजको भूमिकामा देखापरेका छन् । जानकारीमा आएअनुसार चलचित्र आचार्य असोज ६ गतेदेखि आउने छ बजारमा ।