दोस्रो बजारमा रसुवागढी र सान्जेनको सेयर कारोबार आजदेखि

दोस्रो बजारमा रसुवागढी र सान्जेनको सेयर कारोबार आजदेखि


मंगलबार अर्थात आजबाट दोस्रो बजारमा रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनीले सेयर कारोबार सुरु गर्ने भएका छन् ।

रसुवामा ३ जलविद्युत आयोजना निर्माण गरिहेका यी कम्पनीले नेपाल स्टक एक्सचेन्स (नेप्से) मा सेयर सूचीकृत गरेर कारोबार सुरु गर्न लागेका हुन् । दुवै कम्पनी र नेप्सेबीच सोमबार दोस्रो बजारमा सेयर सूचीकृत सम्झौता भएको छ । सम्झौता अनुसार रसुवागढीले सय रुपैयाँ अंकित ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता र सान्जेनले ३ करोड २८ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरेको छ ।

रसुवागढीको सूचीकृत भएको सेयरमध्ये सर्वसाधारणको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक सेयर ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता छ । कर्मचारी संचय कोषमा रकम संचित गर्ने सञ्चयकर्ता, कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीको १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ । रसुवागढीको सेयर प्रतिकित्ता ९७.२९ देखि २९१.८७ रुपैयाँको सीमाभित्र कारोबार हुने नेप्सेले जनाएको छ ।

यस्तै, सान्जेनले सूचीकृत गरेको सेयरमध्ये सर्वसाधारणको ५४ लाख ७५ हजार कित्ता , कम्पनीलाई ऋण दिने संस्थाका कर्मचारीको ३ लाख ६५ हजार कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारी १२ लाख ७७ हजार ५ सय कित्ता सेयर छ । संचय कोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीको पनि ७१ लाख १७ हजार ५ सय कित्ता सेयर सुचिकृत भएको छ ।

सूचीकृत भएको सेयर कारोबार मंगलबारबाट सुरु हुनेछ । सान्जेनको सेयर कारोबार ९६.३२ देखि २८८.९६ रुपैयाँको सीमाभित्र हुने नेप्सेले जनाएको छ । रसुवागढीले गत साउन १४ र सान्जेनले १५ गते सेयर सूचीकृतका लागि नेप्सेमा आवेदन दिएका थिए । चिलिमे जलविद्युत कम्पनीका सहायक यी दुई कम्पनीको सेयर कारोबार सुरु भएपछि दोस्रो बजारमा तरलता उत्पन्न भइ लगानीकर्ताको मनोबल बढ्ने अपेक्षा नेप्सेले गरेको छ । निष्कासन तथा बाँडफाँड भएको झन्डै साढे ३ महिनापछि यी दुई कम्पनीको सेयर पुँजी बजारमा सूचीकृत भएको हो ।