अन्तराष्ट्रिय बजारमा सुनको माग बढेसँगै नेपालमा सुनको मूल्य बढेको छ । गत साउन दोस्रो साताबाट दैनिकरुपमा सुनको मूल्य बढेको राष्ट्रबैंकको तथ्यांकले देखाएको छ ।
साउन १५ गते प्रतितोला ६४ हजार रुपैयाँमा किनबेच भएको सुन २४ गते ७० हजार रुपैयाँ पुगेको छ । दैनिक ३५ केजी सुन बिक्रि गर्दै आएका व्यवसायीहरु मूल्यबृद्धिका कारण दैनिक ५ देखि ६ केजीमा झरेका छन् ।
गत बर्ष यही समयमा बजारमा सुनको माग दैनिक ३५ किलोग्राम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । उनका अनुसार अहिले बजारमा मुश्किलले ५ देखि ६ केजी मात्रै सुन बिक्रि हुने गरेको छ ।
‘गतबर्षको तीजमा सुनको मूल्य प्रतितोला ५६ हजार ५ सयदेखि ५८ हजारसम्म थियो । तर पछिल्ला तीन दिनयता सुनको मूल्य ७० हजार रुपैयाँमा अडिएको छ ।’ शाक्य भन्छन्, ‘लगातार सुनको मूल्य महँगिएपछि बिक्नै छाडेको छ ।’ अहिले बजारमा सुन खरिद गर्नेभन्दा बिक्रि गर्ने सर्वसाधारणको चहलपहल बढी हुने गरेको शाक्यको भनाई छ ।
आधिकारिक रुपमा सुन ल्याएर व्यवसायीलाई बेच्ने जिम्मा पाएका बैंकहरुमै सुन थन्किएको छ । अहिले बैंकहरुमा ६ सय ४२ केजी सुन मौज्दात रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाको भनाई । उनका अनुसार बजारमा सुनको कारोबार सुस्त भएपछि व्यवसायीले सुन खरिद गरेका छैनन् ।
यसकारण भयो सुनको मूल्यबृद्धिः
–बजेटले भन्सार शुल्कवापत प्रतिकेजी ८० हजार रुपैयाँ सुनको मूल्य बढाउनु
–अमेरिका र चीनको व्यापारिक द्वन्द्व
–केही दिनअघि अमेरिकी फेडरल रिजर्भ बैंकले शून्य दशमलव २५ प्रतिशतले व्याज घटाउनु
–डलरका लगानीकर्ताहरु बैंकमा रकम जम्मा गर्नुको सट्टा सुन खरिदतर्फ लाग्नु
–चीनले अमेरिकी डलरमा आफ्नो कुल विदेशी मुद्राको ८५ प्रतिशतभन्दा बढि लगानी नगर्ने नीति
अमेरिकामा सुनको माग बढ्दा अन्तराष्ट्रिय बजारमै सुनको भाउ प्रतिऔंस करिब १५ सय डलर नजिक छ । यसको सोझो असर नेपाली बजारमा परेको हो । व्यवसायीले सुन खरिद गर्न नसकेपछि बैंकहरु पनि मौज्दात नसकिएसम्म खरिद नगर्ने तयारीमा छन् ।
प्रतिक्रिया