हे ! माया ! तिमी स्वर्ग बनेर आऊ

हे ! माया ! तिमी स्वर्ग बनेर आऊ


-सुमल कुमार गुरुङ
म अत्तिइसकें हरायौं कता ?
हे ! माया ! तिमी स्वर्ग बनेर आऊ
अकाशभरि खुशी छर्दै
मेरा तनभरि स्नेह बगाउँदै ।

मलाई मुसार्ने हातहरुलाई
कुटो कोदालो देऊ
गोली बन्दुक होइन
विवेक देऊ
कलम देऊ
स्वच्छ सोंच देऊ
तब जन्मन्छ गर्भबाट छोरा “सन्तोष”
जन्मनेछिन् छेारी “शान्ति” ।

म थाकिसकेँ कता छ्यौ तिमी ?
हे ! माया ! निस्वार्थको उज्यालो लिएर आऊ
मलाई सन्तोष र शान्ति चाहिन्छ ।

निसास्सिएकी छु म
नरकरुपी अन्धकारमा
कुम्भिपाकको कारागारभित्र,
विरक्तिएकी छु म अति नै
झेल्दै छु म थरि-थरिका प्रदुषण
जिउभरि खूनपीप बग्दै छन्
मनका फा“टभरि स्वार्थ र भ्रष्टाचार
प्रतिशोधको वीष वमनमा
मेरो मजेत्रो मैलिएको छ ।

खेल कुर्सीको प्रदुषणले
रोगिएकी म
बन्दै बन्दको धूँवाभित्र
हराएकी छु म
सन्तान आफै बन्दैछन्
एकअर्काको यमराज
चिन्न छाडे मलाई
निरीह हेर्दैछु तमाशा ।

हे ! माया ! आऊ तिमी आशा बनेर
मायाको वीज छरिदेऊ
अँध्यारो घृणा हर्टाई
सफा मनको प्राङ्गणमा
जननी जन्मभूमिश्च स्वर्गदपि गरियासी
मन्त्रोचर प्रत्येक ओंठमा
बनेर आऊ
हे ! माया ! तिमी स्वर्ग बनेर आऊ ।