‘उद्योगी–व्यवसायीले अर्थतन्त्रलाई चलायमान बनाए’

‘उद्योगी–व्यवसायीले अर्थतन्त्रलाई चलायमान बनाए’


पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा उद्योगी–व्यवसायीले नै अर्थतन्त्रलाई चलायमान बनाएको बताएका छन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घको नवौँ साधरणसभामा उनले सरकारले उद्योग–व्यवसायलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्ने बताए ।

नेपालमा बाध्यात्मक वैदेशिक रोजगारीकोे अवस्था अन्त्य गर्ने उपाय पनि देशभित्रका उद्योगले दिने रोजगारी नै भएको नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत रहेका नेपालको भनाइ थियो । व्यवसायीले आफ्नो पैतृक सम्पत्ति धितो राखेर व्यवसाय गरेर रोजगारी सिर्जना गरेको र अर्थतन्त्रमा योगदान दिइरहेको उनको भनाइ थियो । उनले भने, ‘सरकारले पनि देशभित्रका उद्योगलाई प्रोत्साहन गरेर नै बेरोजगारीको समस्या हल गर्न सक्छ ।’

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायलाई सेवामूलक व्यवसायका रुपमा स्थापित गरेर यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ थियो । बैंक र कानूनमा रहेका समस्या हल गर्नसँगै सरकारका नीतिले भएका अप्ठेरो हटाउन महासङ्घलाई सहयोग गरिने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘यस क्षेत्रको विकासमा रहेका चुनौती हटाउन म यहाँहरुसँगै छु ।’

नेपाली काँग्रेसकी नेत्री पम्फा भुसालले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीका समस्या सदनमा उठाउन आफू तयार रहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सधैँ उद्योग व्यवसाय प्रोत्साहनको पक्षमा रहेको उनले औँल्याइन् । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घका अध्यक्ष लीलाबहादुर जिसीले देशमा अझै व्यवसायमैत्री वतावरण नभएको बताए । सरकारले विवाह, व्रतबन्धलगायत भोजमा सङ्ख्या तोक्नेलगायत यस व्यवसायको चुनौतीका रुपमा रहेको उनले औँल्याए । उनले भने, ‘सरकारले व्यवसायमैत्री वातावरण बनाउँदा हामीले ३६५ दिन नै रोजगारी दिइरहेका छौँ ।’