- छविलाल बगाले
केही बर्षयता नेपालमा धेरैको आकर्षण बनेको छ विद्युतीय सवारी । जुन इन्धनबाट चल्नेभन्दा निकै खर्च कम गर्ने सवारी हो । विद्युतीय सवारीमा प्रति किलोमिटर गुड्दा २ रुपैयाँ ४० पैसा मात्रै खर्च हुन्छ । जसकाकारण पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्न थालेको तथ्यांकले देखाएको छ ।
नेपालमा अहिले एक हजारभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालनमा छन् । बाँकी सवारीसाधन डिजल र पेट्रोलबाट चल्छन् । डिजल र पेट्रोलबाट चल्ने कुनैपनि सवारीसाधन १५ देखि २० किलोमिटर गुड्दा एक लिटर इन्धन खपत हुन्छ । तर, विद्युतीय सवारी साधनमा भने प्रति किलोमिटर २ रुपैयाँ ४० पैसा मात्रै खर्च हुन्छ । जुन नेपालको लागि फाइदाको विषय हो । यसैले पनि पछिल्लो समय नेपालमा विद्युतीय सवारी आयातकर्ता र प्रयोगकर्ताको आकर्षण बढेको छ ।
इन्धनबाट चल्ने सवारीे आयातसँगै पेट्रोलियम पदार्थको आयात पनि नेपालमा बढ्दो छ । इन्धन खरीदमा मात्रै हरेक बर्ष डेढ खर्ब बढी रकम बाहिरिदाँ मुलुकको व्यापार घाटा पनि बढ्दो छ । सरकारले पनि चालू आर्थिक बर्षको बजेटमार्फत विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गरेको देखिन्छ । मुलुकभित्र विद्युतीय सवारी साधन उत्पादन गर्ने उद्योगलाई २० देखि २५ प्रतिशतसम्म सहुलियत दिन सरकार पनि तयार छ । अर्थमन्त्री युवराज खतिवडाले मुलुकभित्र विद्युतीय सवारीको प्रयोगलाई बढाउन अनुरोध गर्छन् । ‘विद्युतीय सवारीको उत्पादन गर्दा सरकारले २० देखि २५ प्रतिशतको सहयोग गर्न तयार रहेको छ ।’ उनले भने, ‘सरकारले प्रविधिको प्रयोग गरेर अटोमोबाइल क्षेत्रको सुधार गर्दै जाने भएकाले हाल अटोमोबाइल क्षेत्रमा रहेको समस्या हल हुँदै जान्छ ।’ उनले सार्वजनिक सवारीसाधन विद्युतीय बनाइने तथा बाँकी सवारी साधन हाइब्रिडमा लाने समेत बताए । ‘आयातित ऊर्जाको सट्टा आफ्नै देशको ऊर्जा प्रयोग गरेर हाइब्रिड गाडी सञ्चालन गर्नुपर्छ ।’ उनि भन्छन्, ‘विद्युतीय गाडीहरूको उद्योग स्थापना गर्न सरकारले संरक्षण दिन्छ ।’ उनले विद्युतीय गाडीको एसेम्बल प्लान्टलाई मूल्य अभिवृद्धिको हिसाबले संरक्षण दिने पनि बताए । उनले कति वर्षभित्र उत्पादन गर्नुहुन्छ, कति मूल्य अभिवृद्धि गर्नुहुन्छ त्यसको अनुपातमा २० देखि २५ प्रतिशतसम्म संरक्षण गर्न सरकारले नीति बनाउन तयार छ ।
भृकुटीमण्डपमा सुरु भएको ‘नाडा अटो शो’मा अधिकांशको ध्यान सोकेशमा राखिएका विद्युतीय गाडीहरुले खिचेको छ । अहिले नेपालमा ४६ लाख ५० हजारदेखि ६५ लाखसम्मका विद्युतीय सवारी छन् । अवलोकनकर्ता पनि विद्युतीय सवारीप्रति आकर्षित भएको पाइन्छ ।
विद्युतीय सवारीको बढ्दो प्रयोगका कारण अघिल्ला वर्षहरुको तुलनामा पेट्रोलियम पदार्थको आयातमा १४ प्रतिशतले कमी आएको तथ्यांक सरकारसँग छ । सरकार विद्युतीय सवारीको प्रयोगलाई बढाएर इन्धनको आयातलाई घटाउने कसरतमा छ ।
तर, यसका लागि पूर्वाधार भने बाधक देखिन्छ । चार्जिङ स्टेशन निर्माण नभएका कारण साझा यातायातले ल्याएका विद्युतीय बस अहिले थन्किएका छन् । विद्युतीय सवारी साधनका लागि काठमाडौँ उपत्यकाभित्र र बाहिर पनि चार्जिङ स्टेशन निर्माणलाई प्रमुख प्राथमिकतामा राखिए पनि हालसम्म १२ वटा मात्रै चार्जिङ स्टेशन सञ्चालनमा छन् ।
प्रतिक्रिया