२३ लडाकुद्वारा आत्मसमर्पण

२३ लडाकुद्वारा आत्मसमर्पण


अफगानिस्तानको पूर्वी प्रान्त नानगाहारमा त्यहाँका सशस्त्र लडाकु तालिवान र आईएसका गरी २३ जनाले अफगानिस्तानको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

जलालावाद प्रहरीचौकीमा गएर २० जना तालिवान र अरू तीनजना आईएस लडाकुले आत्मसमर्पण गरेका हुन् । उनीहरूले अबदेखि आफूहरू हिंसामा नलाग्ने भन्दै आफूसँग रहेका हतियार पनि प्रहरीलाई बुझाएका बताइएको छ ।

नानगाहार प्रान्तका प्रान्तीय प्रहरी अधिकारीले सो जानकारी गराएका समाचारमा जनाइएको छ । बुधबार उनीहरूले आफ्ना हातहतियार बुझाएर आत्मसमर्पण गरेका र त्यसमा तीनजना आईएस लडाकुसमेत रहेका भनी उक्त प्रान्तीय प्रहरीका अधिकारीले विज्ञप्तिमा जनाएका छन् ।

उनीहरूले विगतका केही वर्षदेखि सरकारविरुद्धको हिंसामा संलग्न भई काम गर्दै आएका थिए । अबदेखि उनीहरूले आफूहरू हिंसामा नलाग्ने र सरकारको शान्तिप्रक्रियामा सहयोग गर्ने बताएका छन् ।

अफगान सरकारले अफगानिस्तानका बढी तालिवानको प्रभाव रहेका नानगाहारलगायतका पूर्वी प्रान्तमा शान्तिप्रक्रियामा तालिवानहरूलाई ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट सरकारको उक्त शान्ति कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको सरकारी अधिकारीको भनाइ छ ।

उनीहरूको यो आत्मसमर्पणबारे अफगानिस्तानको हिंसा जारी राखेका तालिवान र आईएसले पनि कुनै प्रतिक्रिया दिएको छैन । केही समयदेखि अफगानिस्तानका तालिवान र सरकारबीच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्तिवार्ता जारी रहेको छ । तर, उक्त शान्तिवार्ता सफल भने हुन सकिरहेको छैन ।