भारतीय निर्यात–आयात बैंक (एक्जिम)को ऋण व्यवस्थासम्बन्धी नीति–निर्देशन तथा प्रक्रियाहरूबारे जानकारी गराउने उद्देश्यले काठमाडौंमा एक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निमाण प्राधिकरणले यही भदौ १० र ११ गते उक्त दुईदिवसीय प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल सरकारका २७ जना कर्मचारीहरूको सहभागिता रहेको थियो भने भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरूले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए ।
सन् २०१९ जुनमा भारतमा आयोजित सातौँ ऋण व्यबस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रूपमा सो कार्यक्रम आयोजना गरिएको भारतीय दूतावासको भनाई छ ।
प्राप्त जानकारीअनुसार प्रशिक्षण कार्यक्रमको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो ।
यस्तै, प्रशिक्षण कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरूले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात÷निर्यात तथा घरेलु करसम्बन्धी जानकारी दिएका थिए । २८ जना भारतीय ठेकेदारहरूले प्रशिक्षणमा भाग लिएका थिए ।
भारत सरकारको ऋण सहयोगमा निर्मित परियोजनाहरूमा काम गरिरहेका नेपाल सरकारका कर्मचारीहरुकोे भविष्य निर्माण क्षमताको प्रयासमा सहयोग गर्न पनि दुवै पक्ष सहमत भएका बताइएको छ ।

प्रतिक्रिया