काठमाडौंदेखि भारतको सिलगुढीसम्म सिधा बस सेवा शुरु

काठमाडौंदेखि भारतको सिलगुढीसम्म सिधा बस सेवा शुरु


पूर्वी नाका काँकडभिट्टा हुँदै दैनिक काठमाडौंबाट भारतको सिलगुडीसम्म बस सेवा शुरु गरिएको छ । गत सोमबार काठमाडौंमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीले सो सेवाको संयुक्त उद्घाटन गरेका हुन् ।

सेवा उद्घाटनसँगै दैनिक वातानुकूलित ४४ सिटका बा ५ ख ७९४२ र बा ५ ख ७९४३ नम्बरका नेपाल भारतमैत्री बसले सेवा दिइरहेका नेपाल भारतमैत्री सङ्घ संयुक्त यातायात प्रालिका अध्यक्ष भरत तिम्सिनाले बजानकारी दिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सरकारले काठमाडौंदेखि सीधा सिलगुडीसम्मको बस सेवा शुरु गरेको उनको भनाई छ ।

पर्यटकीय आकर्षणको केन्द्रबिन्दु रहेको काठमाडौंमा भूटान, बङ्गलादेश, भारतको सिक्किम, दार्जिलिङ, काम्लिपोङ, बर्मालगायतका पर्यटकलाई स्थलमार्गबाट नै ल्याउन सो बस सेवा प्रभावकारी हुने विश्वास लिइएको छ । काठमाडौंदेखि सिलगुडीसम्मको ६५० किमि लामो यात्रा गर्न बसलाई १८ घण्टा लाग्ने अध्यक्ष तिम्सिनाको भनाइ छ ।

उनका अनुसार बसले हरेक दिन अपराह्न ३ः०० बजे काठमाडौं छोड्ने र काँकडभिट्टादेखि पानीट्याङ्की हुँदै भोलिपल्ट बिहान ९ः०० बजे सिलगुडी पुग्ने जनाइएको छ । बस भाडा रु दुई हजार नेपाली तोकिएको छ ।

नेपाल र भारतबीच बस सेवाका लागि विभिन्न १२ रुट स्वीकृत गरिएका छन् । जसमध्ये काठमाडौंदेखि सिलगुडी एघारौँ रुट हो । तत्काल काठमाडौंबाट दुई र सिलगुढीबाट दुई गरी चार बस सञ्चालनमा ल्याउने भारत सरकारसँगको सहमति भए पनि भारतले आगामी १५ दिनभित्रमा मात्र सेवा सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष तिम्सिनाले जानकारी दिए ।