टानको अध्यक्षमा सुवेदी उठ्ने

टानको अध्यक्षमा सुवेदी उठ्ने


यही भाद्र २० मा ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल टानको ४१ औं साधारण सभाले दुई वर्षे कार्यकालको लागि नयाँ तेतृत्व चयन गर्दैछ ।

साधारण सभाको मिति नजिकिदै गर्दा नेतृत्वको लागि दौडधुप तथा चर्चा परिचर्चा पनि ह्वातै बढेको छ । एक हजार ८ सय ट्रेकिङ व्यवसायहरुको छाता संगठन टानमा आवद्ध व्यवसायहरु बीच अध्यक्ष पदमा कसलाई ल्याउँदा टानको व्यवसायीक हित र समग्रमा पर्यटन क्षेत्रको प्रर्वद्धनमा सहयोग पुग्दछ भन्ने विषयले यतिवेला प्रमुखता पाएको छ ।

टान अध्यक्षमा चर्चाको अग्रतामा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी छन् । एक महिना अघि नै आफ्नो अपिल पत्रमार्फत अध्यक्ष पदको उमेदवारी घोषणा गरेका सुवेदी अहिलेसम्म टानमा भावी अध्यक्षको चर्चाको अग्रतामा रहेको व्यवसायीहरु वताउँछन् । सुवेदीसँगै व्यवसायीहरु कुमार थापा र मुक्ती पाण्डेले पनि आफुलाई अध्यक्ष पदको उमेदवारको रुपमा प्रस्तुत गरि रहेका छन् ।

अध्यक्ष पदका दावेदारहरु यतिवेला आफ्नो प्यानल निर्माणमा जुटेका छन् । एक–दुई दिनभित्रै समुहगत रुपमा औपचारीक उमेदवार घोषणा गर्ने तयारीमा व्यवसायीहरु रहेको बुझिएको छ । यसपटक पनि विगतमा जस्तै दुईपक्षीय प्रतिस्पर्दा हुने देखिन्छ । चर्चामा अहिले जति देखिए पनि अन्ततः दुई प्यानल मै समेट्न अग्रज व्यवसायीहरु क्रियाशील छन् । एउटा समुहवाट सुवेदी र अर्को समुहवाट थापा वा पाण्डेमध्ये एकजना अध्यक्षको उमेदवार हुने अवस्था रहेको व्यवसायीहरुको भनाई छ ।

सन २००९मा कार्यसमिति सदस्य, २०११ मा कोषाध्यक्ष हुँदै वर्तमान कार्य समितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेका सुवेदी लामो व्यवसायिक अनुभव भएका, सहज, मिलनसार र सक्षम व्यवसायी मानिन्छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिदैं गर्दा यस अभियानलाई समेत टेवा पुर्याउन सक्ने पात्रको रुपमा व्यवसायी सुवेदीलाई हेरिएको छ ।