रणनीतिक महत्वका सडक विस्तारमा विश्व बैङ्कको ६३ अर्ब लगानी

रणनीतिक महत्वका सडक विस्तारमा विश्व बैङ्कको ६३ अर्ब लगानी


देशका रणनीतिक महत्वका दुई सडक निर्माणका लागि विश्व बैङ्कले ६३ अर्ब लगानी गर्ने भएको छ । विश्व बैंकले नौबिसे–मुग्लिङ र पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–कमला सडक विस्तार र निर्माणमा लगानी गर्ने भएको हो ।

रणनीतिक महत्वका २ सडकको लम्बाई २ सय २६ किमि रहेको सडक विभागका वैदेशिक सहायता विकास महाशाखो जनाएको छ । महाशाखाका प्रमुख अर्जुनजंग थापाका अनुसार दुवै सडकका लागि झन्डै ६३ अर्ब रुपैयाँ प्रारम्भिक लागत लाग्ने र त्यसका लागि विश्व बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ । ‘नौबिसे–मुग्लिङ खण्डको ९६ किमि लम्बाई छ भने पूर्व पश्चिम राजमार्गअन्तर्गतको पथलैया–कमला खण्डको १३० किमि सडक विस्तारको काम गरिने लक्ष्य छ ।’ उनले भने, ‘सडक निर्माण प्रक्रियालाई सडक विभागले मुख्य प्राथमिकतामा राखेकाले डिटेल डिजाइन र अध्ययनको काम अघि बढाइएको छ । अब छिटै काम सुरु हुन्छ ।’

महाशाखा प्रमुख थापाका अनुसार नौबिसे–मुग्लिङ सडक खण्डको विस्तृत अध्ययन ६ महिनामा सम्पन्न हुनेछ । ‘अध्ययनको काम सकिएलगत्तै हामी टेन्डरको प्रक्रिया अघि बढाउँछौं ।’ उनले भने, ‘कुल ९६ किलोमिटरको यो सडक खण्डको ५० किमिमा अहिले रहेको सडकमा एक लेन थप गरी चौडा गरिनेछ ।’ सडक खण्ड विस्तारका क्रममा २५ ओटा नयाँ पुल निर्माण गरिने बताइएको छ ।

उता, पथलैया–कमलाको कामलार्य पनि तिब्रता दिइएको छ । कुल १३० किमि खण्डको डीपीआर आगामी एक वर्षभित्र गरिसक्ने, पुसभित्र डीपीआर निर्माण सुरु हुने र एक वर्षभित्र अध्ययनको काम सम्पन्न गरी टेन्डर गरेर काम अघि बढाउने सडक विभागको तयारी छ । विभागका अनुसार यो सडकको कुल लागत ४५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।