- छविलाल बगाले
बैंकहरु सस्तो दरमा गाडी कर्जा उपलब्ध गराउन प्रतिस्पर्धामा छन् । अन्य समयमा कर्जाको ब्याजदर घटाउन नचाहने वाणिज्य बैंकहरु गाडी खरिदमा भने सहुलियत कर्जा दिन तयार छन् । बैंकरहरु पनि लगानीको अन्न्य क्षेत्रभन्दा गाडीमा गरिएको लगानी सुरक्षित ठान्छन् ।
भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ लाई लक्षित गर्दै वाणिज्य बैंकहरुले सस्तो ब्याजदरको गाडी कर्जा ल्याएका छन् । बैंकहरुको सस्तो ब्याजदरले गाडी खरीद गर्ने उपभोक्ताहरुलाई थप हौसला मिलेको छ । गाडी कर्जामा बैंकहरुको आ–आफ्नै प्रतिस्पर्धा छ । कसले कति कम ब्याजदरमा कर्जा उपलब्ध गराउने भन्दै बैंक बैंकबीच प्रतिस्पर्धा चलेको छ ।
केही बैंकले त विद्युतीय गाडीमा अझ आकर्षक र कम ब्याजदरमा ऋण योजना नै अघि सारेका छन् । विद्युतीय गाडीका लागि सिभिल, एभरेष्ट, नविल, स्ट्यान्डर्ड चार्टर्ड एनएमबि, सानिमा, लक्ष्मी लगायत बैंकले कम ब्याजदरमा कर्जा दिने बताएका छन् । गाडी खरिदमा बैंकहरुले कर्जाको ब्याजदरमा लचकता अपनाएको बैंकर्सहरु बताउँछन् ।
नेपाल राष्ट्र बैंकले पनि विद्युतीय गाडीमा अधिकतम ८० प्रतिशतसम्म फाइनान्सिङ गर्न पाउने व्यवस्था गरेकको छ । त्यसैले पनि बैंकहरु २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशत फाइनान्सिङ गर्न प्रतिबद्ध छन् । राष्ट्र बैंकको नीतिलाई अबलम्बन गर्दै बैंकहरुले न्यूनतम ८.५ प्रतिशतदेखि ९.५ प्रतिशतबीचमा रहेर कर्जा प्रवाह गर्दैछन् ।
बैंकहरुले गाडी खरीदमा आधार दरभन्दा पनि कममा झरेर कर्जा उपलब्ध गराउँदा उपभोक्ता पनि खुसी छन् । उनिहरु कायम भइसकेको ब्याजदर दिर्घकालसम्म टिकाउन सुझाव दिन्छन् ।
बैंकहरु पनि अन्य क्षेत्रभन्दा गाडीको क्षेत्रमा कर्जा सुरक्षित हुने ठान्छन् । यसैले पनि ‘नाडा अटो शो’ को मौका छोपेर बैंकहरुले सस्तो दरमा गाडी कर्जाको योजना अघि सारेका हुन् ।
प्रतिक्रिया