अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्यो, ५ को मृत्यु

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चल्यो, ५ को मृत्यु


अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली चलाउँदा ५ जनाको ज्यान गएको समाचार प्राप्त भएको छ । एक बन्दुकधारीले गोली चलाउँदा अन्य १६ जना घाइते भएका हुन् ।

बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूमाथि जथाभावी गोली प्रहार गरेको बताइएको बीबीसीले जनाएको छ । उसका अनुसार टेक्ससका पश्चिमी नगरहरू ओडेसा तथा मिडल्याण्डमा उक्त घटना भएका हुन् ।

प्रहरीका अनुसार एकजना संदिग्ध गोरा पुरुषलाई गोली हानेर मारिएको छ । गोलीकाण्डको उद्देश्य भने अहिलेसम्म पनि थाहा भएको छैन ।

एल पासोमा ४ साताअघि भएको घटना सेलाउन नपाउँदै टेक्सासका पश्चिमी शहरहरू ओडिसा र मिडल्यान्डमा शनिबार दिउँसो बन्दुक आक्रमण भएको हो ।

टेक्सासका प्रहरी प्रवक्ताले घटनाको पुष्टि गर्दै गाडीमा सवार बन्दुकधारीको आक्रमणबाट ५ को मृत्यु भएको र अन्य १६ घाइते भएको जनाएका छन् । ओडेसाको अस्पतालमा उपचाररत घाइतेमध्ये ७ को अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले जनाएअनुसार, २ वर्ष मुनिका बच्चालाई समेत बन्दुकधारीले गोली दागेका छन् । ती बच्चाको अहिले ओडेसाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

ओडेसा नगरका प्रहरीका अनुसार बन्दुकधारीले सबैभन्दा पहिले आफ्नो गाडी रोक्ने ट्राफिक प्रहरीमाथि गोली प्रहार गरेका थिए । अन्दाजी ३० वर्षका ती बन्दुकधारी त्यसपछि हुलाक सेवाका ट्रक नियन्त्रणमा लिएर मिडल्यान्ड नगरतर्फ हुइँकिएका थिए ।