अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द, सेवाग्राही मर्कामा

अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द, सेवाग्राही मर्कामा


बैंकिङ सिस्टम ह्याक भएपछि अधिकांश बैंकका एटीएम चलेका छैनन् । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएपछि सेवाग्राहीहरु मर्कामा परेका हुन् ।

प्रभु र एनआईसी एसिया बैंकको एटीएम सर्भर डाउन भएको नेपाल राष्ट्र बैंकले पुष्टि गरेको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार अन्य बैंकहरुमा समस्या आएकोले समाधान गर्ने प्रयास भइरहेको छ ।

एटीएम कार्डबाट अनाधिकृत रुपमा रकम झिक्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ । यता प्रहरीले एटिएमबाट गएराति चिनियाँ नागरिकले अनाधिकृत रुपमा रकम निकालेको थाहा पाएपछि ५ जनालाई नियन्त्रणमा लिएको छ । बैंकिङ प्रणाली नै ह्याक हुनुमा यो घटना पनि एक कारण हुन सक्ने प्रहरीको अनुमान छ ।