संसद् निलम्बन गर्ने बेलायती प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

संसद् निलम्बन गर्ने बेलायती प्रधानमन्त्रीविरुद्ध प्रदर्शन


संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनविरुद्ध शनिबार देशभर प्रदर्शन भए । राजधानी लन्डनसहित देशका दर्जनौँ सहरमा हजारौँ प्रदर्शनकारी भेला भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रदर्शनकारीले ‘संसद् निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी बेलायती छाया अर्थमन्त्री जोन म्याकडोनेलले संसद् निलम्बन गर्नुलाई लोकतन्त्र मास्ने प्रयासको संज्ञा दिए ।

संसद निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको आग्रहप्रति बेलायती महारानी एलिजावेथ द्वितीयले चासो राखेकी थिइन् । प्रधानमन्त्रीको सो निर्णयप्रति सत्तापक्षका सांसदले पनि विरोध जनाएका छन् । प्रधानमन्त्री जोनसनले भने आफ्नो निर्णय सही भएको दाबी गर्दै आएका छन् ।

प्रधानमन्त्री जोनसनले गत बुधबार आउँदो अक्टोबर १४ तारिखसम्मका लागि संसद निलम्बनका लागि महारानी एलिजावेथसमक्ष प्रस्ताव पेस गरेका थिए । निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिना कुनै सम्झौता युरोपेली संघ (ईयू)बाट बेलायत बाहिरिने प्रक्रिया रोक्न आवश्यक कानुन पारित गर्न सांसदसँग समय अभाव हुने भएको छ । तर, उनले भने ब्रेजिक्टबारे छलफल गर्न दुवै पक्षका सांसदलाई पर्याप्त समय पुग्ने दाबी पनि गरेका छन् ।