नियामक निकायको चाडपर्व लक्षित योजना नहुँदा व्यापारीको मनोमानी

नियामक निकायको चाडपर्व लक्षित योजना नहुँदा व्यापारीको मनोमानी


  • छविलाल बगाले

चाडपर्व नजिकिँदै गर्दा बजारमा कालोबजारी र व्यापारीको मनोमानी मूल्यवृद्धि शुरू भएको छ । खासगरी दैनिक उपभोग्य वस्तुमा जथाभावी मूल्य निर्धारण गरेर बजारमा मनोमानी देखिन थालेको उपभोक्ताहरूको गुनासो छ ।

विगतका बर्षहरुमा पनि बजारमा आकाशिएको मूल्यबृद्धिप्रति सरकार मौन बस्दा नागरिकहरुमा निराशा पैदा भएको थियो । यसबर्ष पनि सरकारको चाडपर्व लक्षित कुनै योजना नहुँदा आम नागरिककको चाडपर्व महंगो बन्ने भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाको भनाई छ । ‘चाडपर्वको मौका छोपेर तेब्बर मूल्यमा बिक्रि गर्ने नेपाली व्यवसायीको पूरानै धन्दा मानिन्छ ।’ उनले भने, ‘तर यसप्रति नियामक निकाय नै मौन छ । चाडपर्व लक्षित योजना बनाउन नसकेकै कारण उपभोक्ताहरु दिनदहाडै ठगिनुपरेको छ ।’

बजारमा दाल, चामल, लत्ताकपडा र अन्य दैनिक उपभोग्य बस्तुको मूल्य छुनै नसकिने गरी बृद्धि भएको सर्वसाधारणहरुको गुनासो छ । तर यसको नियमन गर्ने निकाय नहुँदा बजारमा भद्रगोल सिर्जना भएको उनिहरु बताउँछन् । जुन उपभोक्ताका लागि पिडादायी विषय हो । त्यसो त वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई प्रष्ट रुपमा खरिद मूल्य हेर्ने अधिकार भएपनि विभागसँग मूल्यको नियमन गर्ने र विश्लेषण गर्ने संयन्त्रको भने अभाव छ । तैपनि विभाग सधै सक्रिय भएर काम गरेको दावी गर्छन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन । महानिर्देशक गौचनले कहिले कर्मचारी अभाव त कहिले सरकारको यथार्थ नीति नभएकै कारण काम गर्न कठिनाई भएको बताउँँछन् ।

विभागले अनुगमनका नाममा प्रत्येक वर्ष लाखौं रकम खर्च गरिरहेको छ । तर प्रभावकारिता भने कर्मकाण्डी देखिनु लाजमर्दो विषय बनेको छ । प्रतिस्पर्धी बजार निर्माणका लागि स्पष्ट नीति नियमकै खाँचो देखिए पनि यसप्रति न सरकार गम्भिर बनेको छ न कुनै नियामक निकाय नै । बजारलाई कालोबजारी बाट बचाउन सरकारी संयन्त्र नै फेल हुँदा उपभोक्ताहरु मूल्यबृद्धिको थिचोमिचोमा परेका छन् । सरकारसँग चाडपर्व लक्षित कुनै नयाँ योजना नहुँदा यसवर्ष पनि उपभोक्ताले सास्ती खेप्नुपर्ने पक्का छ ।