बर्मामा नेपाली उत्पादनको प्रदर्शनी

बर्मामा नेपाली उत्पादनको प्रदर्शनी


सार्क चेम्बर महिला उद्यमी परिषद, नेपाल (एससिडब्लुइसी ) संग आबद्ध एक टोली नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्यसहित वर्माको याङ्गनतर्फ प्रस्थान गरेको छ ।

वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसि नेपालकी उपाध्यक्ष सरोजनि शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित टोली वर्माको याङ्गनको भ्रमणमा निस्किएको हो । टोलीले याङ्गनको पाइन ओ ओलीन शहरस्थित नेपाली दुताबासमा आइतबारदेखि नेपाली उत्पादनहरुको प्रदर्शन सुरु गरेको हो । आइतबारदेखि मंगलबारसम्म चल्ने प्रदर्शनीमा नेपालका विभिन्न उत्पादनहरुको प्रबद्र्धनात्मक प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, नेपाली महिलाहरुले प्रयोग गर्ने पोते, क्लीप, चुरा, कुशन कभर, दौरा सुरुवाल, साडी र चोली, मखमली चप्पल, बिभिन्न प्रकारका हातले निर्माण गरेको हाते झोलाहरु, गाग्री, खड्कुलोजस्ता सामाग्रीहरु राखिएको छ । यसप्रति त्यहाँका स्थानीयहरुको आकर्षण बढ्दो रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी टोलीले बर्माका विभिन्न शहरहरुमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार गरी यस मुलुकबाट नेपालमा पर्यटक भित्र्याउने योजना समेत बनाएको छ । सार्क चेम्बर महिला उद्यमी परिषद (एस्सिडब्लुइसी) नेपाल सार्क चेम्वर अफ् कमर्श एण्ड् इण्डष्ट्रि मातहतको एक अंग पनि हो जसको मुख्य उद्देश्य सार्क मुलुकहरुको महिला उद्यमीहरुलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्ने रहेको छ ।

बिगत १० बर्षदेखि यो संस्थाले महिला उद्यमीहरुको हितका लागि बिभिन्न कदमहरु चाल्दै आएको छ ।