पाँचताराको अध्यक्षमा पुनः पाठक

पाँचताराको अध्यक्षमा पुनः पाठक


राजधानीको पेप्सिकोलामा कार्यालय रहेको पाँचतारा बचत तथा ऋण सहकारी संस्थाको १२औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभाले भोला नाथ पाठकको अध्यक्षतामा आगामी ४ वर्षका लागि सात सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ ।

साधारणसभाद्वारा सञ्चालक समितिका अन्य निर्विरोध पदाधिकारीमा द्वितीय उपाध्यक्षमा विजया मल्ल, सचिवमा लोचनहरि प्रसाईं, कोषाध्यक्षमा कुमार बिमली र सदस्यहरूमा रेणुका प्रधान, विन्दा कुँवर, हरिवंश कडरिया र गोपालबहादुर तामाङ रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा सुशील प्रसाईं र सदस्यहरूमा खेमराज पोखरेल तथा नवराज प्रसाईं चयन भएका छन् भने ऋण उपसमिति सदस्यहरूमा अवलेशकुमार पाण्डे र मनीषकुमार सिवाकोटी छानिएका छन् । साधारणसभाले शिक्षा उपसमितिको संयोजकमा उत्तम राजभण्डारी र सदस्यहरूमा युवराज प्रसाईं र चेतनाथसिंह बस्नेतलाई चयन गरेको छ ।

नेफ्स्कुनका अध्यक्ष डीबी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा संस्थाका नवनिर्वाचित अध्यक्ष भोला नाथ पाठकले आफूलाई पूर्ण विश्वासका साथ पुनः संस्थाको नेतृत्व लिने अवसर प्रदान गरेकोमा सम्पूर्ण सदस्यलाई धन्यवाद दिए । उनले सभामा आफूले बोल्नेभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता जनाए । उनले आफ्नोे दायित्वलाई पूरा गर्ने र यसका लागि सबैको सहयोग र सद्भावको अपेक्षा गरे । पाठकले संस्थालाई अझ चलायमान गराउन नयाँ सञ्चालक समिति र विभिन्न उपसमितिहरूलाई क्रियाशील बनाई सदस्य र संस्थाको हितका लागि काम गर्ने जनाए ।

सभाले संस्थाको आर्थिक वर्ष ०७५–७६ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई पारित गरेको छ । गत आवको अन्त्यसम्म संस्थाको सेयरपुँजी ६ करोड २६ हजार, बचत संकलन ३८ करोड ९ लाख र ऋण लगानी ३६ करोड ८८ लाख ७७ हजार रहेको कोषाध्यक्ष कुमार बिमलीले जानकारी दिए । संस्थाले गत आवमा २ करोड १४ लाख ९५ हजार सञ्चालन नाफा आर्जन गरेको छ भने त्यस अवधिमा प्रत्यक्ष र अन्य कर गरी ५२ लाख रुपैयाँ राजस्व तिरेको छ । संस्थामा हाल १ हजार ७ सय ७८ सेयर सदस्य रहेका छन् । संस्थाको जगेडा कोष, प्राकृतिक विपत्ति कोष, अन्य खर्च नहुने कोष, घाटापूर्ति कोष र ऋण नोक्सानी कोषमा गरी ५ करोड ३४ लाख ६२ हजार रकम सञ्चित रहेको छ ।

संस्थाले कार्यक्षेत्रभित्रका अति विपन्न सदस्यलाई ११ प्रतिशतमा ऋण उपलब्ध गराउने योजना रहेको र त्यसका लागि निवेदन दिन आह्वान गरेको छ । यसैगरी यस वर्ष महिला उद्यमीलाई प्रोत्साहन गर्न विशेष प्रकृतिको उद्यम गर्न चाहने एकल वा समूहलाई १४ प्रतिशतमा नै ऋण उपलब्ध गराउने योजना रहेको सो अवसरमा जानकारी गराइयो ।

संस्थाले सदस्यहरूको आर्थिक रूपान्तरणसँगै सामाजिक तथा सांस्कृतिक उत्थानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । त्यसक्रममा सौर्यबत्ती जडान, नहाकटी मन्दिर पुनर्निर्माण तथा किरियापुत्री भवन निर्माण, गार्डेनहरूमा आराम गर्न मेच निर्माण, रक्तदान, सरसफाइ, अग्रज सहकारी अभियन्ताहरूको सम्मान र ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएको छ ।

यसैगरी संस्थाले निकट भविष्यमा पाँच लाखसम्मको सदस्य दुर्घटना बिमा र पाँच लाखसम्मको साना ऋणको जोखिम बिमा गर्ने सम्बन्धमा बिमा कम्पनीहरूसँग छलफल गरी प्रक्रिया अगाडि बढाउने भएको छ । यसैगरी यस आ.व. का लागि एटीएम, मोबाइल बैंकिङ, अनलाइन पेमेन्ट सिस्टम सेवा उण्पलब्ध गराउन आवश्यक पहल गर्ने, कर्मचारीलाई सामाजिक कोषमा सहभागी गराउने, लगानीका क्षेत्र पहिचान गरी सुरक्षित ऋण प्रवाहका लागि अध्ययन गर्ने, मर्जर गर्न चाहने संस्थासँग प्रक्रिया अगाडि बढाउने र सहकारीहरूबीच समन्वय गरी उत्पादनमुखी वा व्यावसायिक परियोजनामा साझेदारी गर्ने संस्थाका भावी योजना रहेको सो अवसरमा बताइयो ।