देश हाम्रो सडेछ – पद्मप्रसाद मैनाली

देश हाम्रो सडेछ – पद्मप्रसाद मैनाली


बोल्छन् मीठो बहुत रसिलो कार्य अर्कै गरेका ।
लुस्दै-चुस्दै कृषकजनको पेट आफ्नो भरेका ।।
गछौं भन्दै हलचल गरी देश नाङ्गो बनाए ।
ढाँट्दै छल्दै मुलुक सब यो पङ्गु खोक्रो गराए ।।१।।
बोल्छन् एउटा जनकपुरमा पोखरामा त अर्कै ।
ढाडस दिन्छन् कपट रच्दै खेल गर्छन् असर्ुर्कै ।।
उद्योग- धन्दा न त छ कतै रोजगारी चलेको ।
फट्याइँले अगम महँगी रोजरोजै बढेको ।।२।।
जान्छन् छोरा अरू मुलुकमा द्रव्यका निम्ति हेर ।
पुग्छन् पर्छन् अगम दहमा बाध्यताले गरेर ।।
लान्छन् वेश्यालयतिर हरे ! बेच्नका निम्ति छोरी ।
रुन्छिन् आमा धरधर कठै ! वेदनाले निचोरी ।।३।।
हत्या चोरी विकृति चुलिँदै सत्य- सीमा हरायो ।
ढाँट्ने छल्ने कुरीति थपिँदा देश सिङ्गै डरायो ।।
झिल्के फुर्के रङविरङको चाल यस्तो चलेर ।
सड्दै गल्दै उकुच हुनगो देश हाम्रो सडेर ।।४।।
– मेच्छे – ३, काभ्रे

यक्ष प्रश्नहरू – प्रकाश प्रधान
यो कोलाहलमा यो हाहाकारमा
यो गडबडीमा
शान्ति ज्योति ल्याउने को ?
यो अशान्तिमा थरथराहटमा
यो छटपटीमा
साम्य पार्ने को ?
यो लुछाचुँडीमा हानाहानमा
रिसारिसमा
सम्झाउने को ?
यो भताभुङ्गमा यो अव्यवस्थामा
यो जथाभावीमा
नियन्त्रित गर्ने को ?
यो अस्तव्यस्ततामा दलाल छद्मभेषीको बिगबिगी
मिल्ने कुरो मिल्नै नदिने
सजग भएर प्रतिकार गर्ने को ?
यो अनिश्चिततामा यो घोर निराशामा
यो टोलाहटमा
सान्त्वना दिने को ?
यो आमगुनासोमा अस्थिर मनस्थितिमा
यो हत्तोत्साहमा
ढाढस दिने को ?
यो निरन्तर पिरलो अथाह आशङ्का
अनहोनीको डर
निवारण गर्ने को ?
यो दोषारोपण र आत्माभिमानमा
आफूमात्र स्वनाम धन्यमा
सचेत गराउने को ?
यो रातदिनको बेमेल दाउपेचको मेलो
घमण्ड अभिमानमा
सद्बुद्धि ल्याउने को ?
यो अनुचित लोभमा भ्रष्ट आचरणमा
घोर स्वार्थीपनामा
सत्यबोध गराउने को ?
यो शून्यतामा यो चकमन्नतामा
यो अन्धकारमा
बत्ती बाल्ने को ?
यो नेतृत्वको दुरुपयोगमा समाजविरोधीको चकचकीमा
यो असामान्य स्थितिमा
सम्हाल्ने को ?
सुशासनमा राष्ट्रिय प्रवर्द्धनमा
शीघ्र प्रगति र उन्नतिमा
ध्यान दिने को ?
सशक्त नेताको कि नेतृत्व समूहको !