यसरी गरियो नागपोखरीमा ‘छठी माता’को उपासना

यसरी गरियो नागपोखरीमा ‘छठी माता’को उपासना


‘यो संसारमा सत्य भनेको के त ? हामी ५६ कोटी देवता मान्छौँ । आकार–प्रकारको उपस्थिति हिन्दू समाजमा व्याप्त छ, तर प्रत्यक्ष रूपमा संसारले मान्ने, संसारले देख्ने दीनानाथ सूर्य भगवानले हामी सबैलाई उर्जा दिने, वहाँकै तापबाट प्राणीजन्य वन, बस्तु, नदीनाला आदि सबैलाई प्राण दिने एक मात्र देवता सूर्य भगवानलाई हामीले मान्दछौं ।’

राजधानीको नक्सालस्थित नागपोखरीमा सम्पन्न छठी माताको उपासना कार्यक्रम (छठ पर्वको अवसर) मा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले उक्त मन्तव्य राखेका हुन् ।

सो अवसरमा राजपरिवारका सदस्य पूर्वयुवराज्ञी हिमानी शाहको विशेष उपस्थितिले सहभागी सबैलाई उर्जा र उत्साह प्रदान गरेको महतोको भनाई छ । पूर्वयुवराज्ञी शाहद्वारा दिइएको ‘राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रको प्रगतिको लागि हामी सबै एकजुट हुन छठी माताले प्रेरणा देओस्’ भन्ने शुभकामना सन्देशलाई विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियका महासचिव अस्मिता भण्डारीले पढेर वाचन गरेकी थिइन् ।

गठबन्धनका पदाधिकारीहरू, सन्तोषी माता मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एस. श्रेष्ठ, स्थानीय संघ–संस्था, वडा कार्यालय, संचारकर्मी, सुरक्षाकर्मी, वीर गोर्खाली, पूर्वमन्त्री निक्षशमशेर जबरा, श्रीराम हनुमान आराधना मण्डल, किसान संघ, राष्ट्रवादी जन जागरण अभियान, राजसंस्थावादी वृहत समूह लगायतका थुप्रै संघ–संस्थाका पदाधिकारीहरूको सहभागितामा सम्पन्न सो समारोहलाई हिलटेक ग्रुप, शिवालिक हर्वलले प्रायोजन गरेको थियो ।