एयरलाइन्सहरूको दायित्व हुँदैन ?

एयरलाइन्सहरूको दायित्व हुँदैन ?


कुरा २०८१ साल बैशाख ३ गतेको हो । नेपालगञ्जबाट काठमाडौं आउँदै गर्दा फ्लाइट ६ घण्टा ढिलो भयो । दिउँसो ४ः२० को फ्लाइटका लागि ३ः२० मा एयरपोर्ट पुगेकी थिएँ, राति पौने दश बजे जहाज उड्यो । जहाज किन ढिलो भएको हो ? कति बेला जान्छ ? भनेर त्यसबीचमा धेरै जनाले धेरैपल्ट एयरलाइन्सका स्टाफहरूलाई सोधे/सोधियो, तर कसैले कुनै जवाफ दिएनन् । रेडिमेड टाइपको ‘हुँदैछ, आउँदैछ, एकछिन पख्नुस् न…’ भन्ने जवाफ पाए पनि खासमा त्यतिका समय किन कुराएको ? त्यति ढिलो हुने रहेछ त यात्रुलाई किन पहिल्यै खबर नगरेको ? अब कति बजेतिर उड्छ ? उड्ने हो कि नउड्ने हो… यात्रुलाई कुनैपनि जानकारी दिइएन ।

हामीले टिकट लिएको जहाज मात्र होइन, त्यहाँ अर्को जहाजका यात्रुको पनि हाल उस्तै थियो । उनीहरू पनि काउन्टरमा जाँदै फर्कंदै गरिरहे तर कसैले के भएको हो, किन ढिलो भएको हो कुनै जानकारी दिएनन् । साढे पाँच बजेको आसपासमा काठमाडौं पुग्ने गरी आफ्नो योजना बनाएका, आफन्तलाई एयरपोर्टमा लिन बोलाएका, बिरामी लगायतका मानिसहरू घडी हेर्दै बसे । हामीले यात्रा गर्न लागेकै एयरलाइन्सको हामीभन्दा पछिको फ्लाइट राति ९ बजे हठात क्यान्सिल गरेको जानकारी दिइयो । रातको ९ बजे कहाँ जानु ? मानिसहरू आफ्नो घरभन्दा टाढा-टाढाबाट यात्रा गरिरहेका थिए । विभिन्न जिल्लाबाट काठमाडौं जानका लागि पाँच घण्टादेखि एयरपोर्टमा बसेका मानिसहरूमा कोही बिरामी थिए, कोही वृद्ध, युवाहरू नै पनि त्यति राति कहाँ जानु ? कहाँ बस्नु ? भोलीपल्ट बिहान फ्लाइट हुने भन्ने बाहेक त्यसदिन किन नभएको हो भन्ने कुनै जानकारी दिइएन । हामी आएको फ्लाइटमा पनि एक जना धेरै अशक्त बिरामी रहेछन्, घण्टौँ एयरपोर्टमा कुर्दा उनको अवस्था झन् नाजुक भएको थियो ।

फ्लाइट क्यान्सिल हुनेहरूलाई त्यति राति फर्किएर कहाँ जानु ? के खानु ? कसरी रात बिताउनु ? भन्ने समस्या, यता फ्लाइट भएर काठमाडौं आउनेहरूलाई काठमाडौं पुग्दा करिब एघार बज्यो, त्यति राति कसरी आ-आफ्नो बासस्थान पुग्नु ? अर्को समस्या । रातिकै फ्लाइटमा आउनेहरूको सोहीअनुरुपको तयारी हुन्छ तर दिउँसै घर पुगिन्छ भनेर हिँडेकाहरूको मानसिक र अन्य तयारी हुँदैन । सबैका आफन्तहरू एयरपोर्टमा लिन गएका हुँदैनन्, सबैसँग यातायातको साधन हुँदैन, मध्यरातमा सार्वजनिक यातायात चल्दैन । एक दिनको घटना यहाँ उल्लेख गरेपनि यस्ता घटना बारम्बार दोहोरिने गरेका छन् । एउटा मात्र होइन साँझमा उडान गर्न मिल्ने ठाउँ पुग्ने प्रायः सबै एयरलाइन्सहरूले यात्रुलाई अलपत्र पार्ने गरेका छन् । रातको नौ, दश बजे फ्लाइट क्यान्सिल गर्दा ती यात्रु कहाँ जालान् भन्ने कुरामा एयरलाइन्सको कुनै दायित्व हुँदैन ? दिनभरिको समय फ्लाइट डिले गर्दै पछि धकेल्ने र अरु ठाउँमा उडान भर्ने अनि राति भएपछि ती ठाउँमा गर्ने, धेरै राति हुने भयो र नभ्याइने भयो भने राति जतिसुकै बजोस मतलव भएन.. क्यान्सिल गरिदिने । नेपालगञ्ज, विराटनगर, जनकपुर, भैरहवालगायतका फ्लाइटहरूमा प्रायः यस्तो हुने गरेको छ । यो आन्तरिक उडान गरिरहेका एयरलाइन्सले गर्ने गरेको समयको हेलचेक्र्याइँ मात्र होइन यात्रुको समयको अनादर र उनीहरूप्रतिको अपमान पनि हो ।

जहाज नआएका कारण ६-७ घण्टा एयरपोर्टमा बसेका यात्रुलाई प्लेनमा चढेपछि नमागीकन एक कप पानी पनि दिइँदैन । के नेपालका एयरलाइन्सहरू यात्रुलाई एक ग्लास पानी पनि खान दिन नसक्ने गरी घाटामा छन् ? यदि त्यस्तै अवस्था हो भने प्रतिब्यक्ति एक बोटल पानीको रकम टिकटमै थपुन् । मानिसको जीवनमा समय सधैं एकनासको हुँदैन, यात्राका क्रममा त झनै हुँदैन । कहिले मौसमले साथ दिँदैन, कहिले अकस्मातै कुनै विपद् आइपर्न सक्छ । तर जे-जे भएपनि के भएको हो ? भन्ने जानकारीचाहिँ सम्बन्धित पक्षले दिनुपर्छ ।

जहाजमा यात्रा गर्ने भनेको छिटो पुगिन्छ भनेर नै हो । आरामले जहिले पुगेपनि हुने भए बसको यात्रा गरेपनि हुन्छ । हाम्रो देशमा जहिलेपनि बाटो बनिरहने र बिग्रिरहने हुँदा सडकको बाटो प्रायः ढिलाइका कारण प्रयोग गर्न हिच्किचाइन्छ । सडक सुरक्षाको अवस्था पनि त्यस्तै नाजुक छ । सडक सुरक्षा र समयका कारण काठमाडौंबाट जहाजमा यात्रा गर्न मिल्ने ठाउँमा मानिसहरू सकेसम्म प्लेनबाटै यात्रा गर्न चाहन्छन् । एयरलाइन्सले यात्रु धेरै पाउनुको अर्थ यो होइन कि उनीहरूले जसरी चलाएपनि हुन्छ, जे गरेपनि हुन्छ । जहाज सकेसम्म समयमै उड्नुपर्छ । विभिन्न देशको यातायात प्रणाली हेर्ने हो भने प्लेनको त के कुरा – बस, ट्रेन, ट्राम सबै नै ‘अन टाइम’ हुन्छन् । यात्रु कति छन्, छन् या छैनन् सँग मतलब हुँदैन, कुनै स्टेसनबाट छुट्ने बस/ट्रेन तोकिएको समयमा छुट्छ । तर हामीकहाँ प्लेनको समेत समयको टुङ्गो हुँदैन । मौसमको गडबडीबाहेक किन समयमा उडान नभएको हो जानकारी दिइँदैन ।

मौसम हाम्रो हातमा हुँदैन, अकस्मात आइपरेका समस्याहरू पनि मानिसको हातमा नहुन सक्छन्, तर समयमा उडान किन भएन भन्ने कुराको जानकारी दिनु एयरलाइन्सको कर्तब्य हो । उडान किन ढिला भएको हो ? अब कतिबेला हुन्छ ? भन्ने कुराको जानकारी यात्रुले नसोधीकनै दिने ब्यवस्था हुनुपर्नेमा पटक-पटक सोध्दा पनि एयरलाइन्सका कर्मचारीहरूले कि त ‘केही थाहा भएन’ भन्ने गरेका छन्, या त मौन रहिदिन्छन् । साँझको उडान भएका स्थानमा मात्र नभइ अन्य स्थानमा पनि यस्ता समस्या बारम्बार दोहोरिने गरेका छन् । मौसम ठिक छ, कुनै विपद् पनि आइपरेको छैन तर समयमा फ्लाइट हुँदैन । यसको मुख्य कारण समयले भ्याउने भन्दा बढी फ्लाइट राख्नु हो । बढी फ्लाइटहरू राख्ने अनि समय पर-पर सार्दै लाने, धेरै ढिलो भयो भने क्यान्सिल गरिदिने । त्यसको मारमा ‘यो समयमा यहाँ पुगिन्छ’ भनेर आफ्नो समय ब्यवस्थापन गरेर यात्रा गर्ने यात्रुहरू, बिरामी, अशक्त, सर्वसाधारण सबै नै परिरहेका छन् । तर हामीकहाँ कुनै बेथितिले आफूलाई जति दुख भएपनि ‘आ… भैहाल्यो, यस्तै हो, बोलेर के हुन्छ र ?’ भनेर यस्तो किन भइरहेको छ ? भनेर प्रश्न गर्ने चलन पनि छैन । मलाई पनि पटक-पटक परेपछि मात्रै यो त लेख्नैपर्छ भन्ने लागेको हो ।

कुनैपनि देशको समृद्धिका लागि हरेक काममा, हरेक क्षेत्रमा समय ब्यवस्थापन महत्वपूर्ण पक्ष हो । देशमा मात्र नभइ यो मानिसको ब्यक्तिगत जीवनमा पनि लागु हुने कुरा हो । समयलाई ध्यान नदिएपनि आफ्नो जिन्दगी चलिरहेको त हाम्रो देशका केही नेताहरूको मात्रै हो । उहाँहरूको जिन्दगी राम्ररी चलेपनि देशको भने चलेको छैन । समयको इज्जत नगरी गरिएका कामहरू केही समय टिकेपनि तिनले निरन्तरता पाउन गाह्रो हुन्छ । नेपालका एयरलाइन्सहरूले समयमा उडान भर्ने कुरालाई लिएर जुन हेलचेक्र्याइँ गरिरहेका छन्, त्यो यात्रुको ‘समय’सँग मात्र नभइ ‘बिचल्ली’सँग पनि जोडिएको हुनाले बिनाकारण फ्लाइट क्यान्सिल गर्दा यात्रुको खानपिन र बासको ब्यवस्था एयरलाइन्सले नै गर्ने नीति आवश्यक छ । साथै किन ढिलो या क्यान्सिल भएको हो त्यसको सही जानकारी दिनुपर्छ । सूचना या जानकारी गलत ठहरिएमा सजायको ब्यवस्था पनि हुनुपर्छ ।