एकलव्य-गोविन्द थापा

एकलव्य-गोविन्द थापा


बधाईको थाकमा फेरि एउटा थप बधाइ छ
जो मुलुकको ३५औँ प्रधानमन्त्री भएका छन् ।
विभिन्न समाचार स्रोतबाट आर्श्चर्यजनक बधाइ शुभकामना पाएका छन् ।
वामपन्थी हुन् वा गैरवामपन्थी नागरिकहरूबाट असीमित स्यावासी पाएका छन्
अब यो अवसर देशले कदापि गुमाउनुहुँदैन ।
विविध विचार सिद्धान्तका दलविशेषले समेत चुक गर्नुहुँदैन ।

अब विगतका डङ्गुर त्रुटि गल्तीहरूलाई पनि सच्याउन सकिन्छ
अनुत्पादक, प्रत्युत्पादक, कुसंस्कारहरूलाई परिमार्जन गर्न सकिन्छ
दण्डहीनता वा अधोगतिमा विराम लगाई, छलाङ मार्न सकिन्छ
नेतृत्वमा भएको अपार विद्वताको प्रयोग देशले गर्नैपर्दछ ।
अद्भूत ऊर्जा शक्तिको सम्भावनालाई सदुपयोग गर्नैपर्दछ ।

नेपालको राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति कुनै नौलो होइन, तान्न सकिन्छ
विरोध-अवरोधको शृङ्खला कुनै अनौठो होइन गर्न सकिन्छ ।
छद्मभेषमा चौतर्फी षड्यन्त्र, हमला वा घेरा हाल्न पनि सकिन्छ ।
तर डढेलो जब घर सङ्घारमा आइपुग्दछ, त्यतिबेला मात्र होस खुल्दछ
अनि बेला भड्किसकेको हुनेछ, समय घड्किसकेको हुनेछ ।

निकासविहीन समीकरणको गञ्जागोलमा परिणामत: पछुताउनुबाहेक बाँकी रहने छैन ।
त्यतिबेला एउटा सिङ्गो मुलुक अत्यास लाग्नेगरी हार्नेछ
विचारबन्द दलहरू कहिल्यै नउठ्ने गरी ढल्नेछन्
आशा, उत्साह, सिर्जनाहरू सबै समाप्तप्राय: हुनेछन्
त्यतिबेला फेरि एकपल्ट सम्झना आउनेछ, धुमिल अस्पष्ट एउटा चित्र
जो उदार, लचकदार, प्रतिबद्ध पात्र मात्र उही एकलव्य
– धरान-११

भावी स्वर्णीम दिनहरू-महेश कार्की
यसबेला म भूत र वर्तमानभन्दा पनि
भविष्यका दिनहरूको चिन्ता गरिरहेको छु
हिजो पीडामा पिल्सिएकाहरूको
आज अशान्तिमा छट्पटाएकाहरूको
सारा दुखाइहरू थुमथुम्याएर
म मेरो कवितामार्फत सबैलाई भन्दै छु
अब भोलिका स्वर्णीम दिनहरूको आगमनसँगै
पीडा र अशान्त अस्ताएर
क्षितिजबाट हरेक प्रभातमा
सहकालको सूर्य उदाउनेछ ।
हिजो जे-जे भए, भए
अकाल्पनिक घटनाहरू जे-जे घटे-घटे
भोलिका सहकालका दिनहरूमा
बितेका काला कुराहरू कोट्याएर
आफ्नै देशसँग क्षतिपूर्ति माग्नु हुँदैन
जे-जे बिगार्‍यौँ हामीले बिगार्‍यौँ
जे-जे घटायौँ हामीले घटायौँ
भत्कायौँ, बाल्यौँ अनि संरचना नष्ट गर्‍यौँ
यो हाम्रो गल्तीलाई अरूमाथि कोच्नु हुँदैन ।
देश हाम्रो हो अनि हामी देशका हौँ
मर्नु र मार्नुको खेल छोड्ने आह्वानमा
म र मेरो कवितामार्फत भन्दै छु सबैलाई
अब भोलिका स्वर्णीम दिनहरूदेखि
प्रत्येक मान्छेका मनका अटालीहरूमा
मानवताको दियो बल्नेछ ।
उमेरमै लोग्ने गुमाएका विधवाहरू
पिता बन्ने अवसर गुमाएका विधुरहरू
भोलिको दिनको प्रतीक्षामा
नयाँ सपना सजाइरहेछन् ।
जति रोयौँ हिजो अस्ति नै रोयौँ हामी
जति पीडित बन्यौँ हिजो अस्ति नै बन्यौँ हामी
म मेरो कवितामार्फत
सबैलाई सार्वजनिक ठोकुवा गर्दै छु
अब रुनुपर्ने छैन
पीडाको ढाकर बोक्नुपर्ने छैन
अब भोलिका स्वर्णीम दिनहरूदेखि
कालो दुर्भाग्य अस्ताउनेछ
अटल सौभाग्य उदाउनेछ
सहकालको आगमनसँगै
नयाँ सूर्य उदाउनेछ ।
– भोजपुर, हाल : त्रिवि क्याम्पस, कीर्तिपुर