श्रीलंकाको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

श्रीलंकाको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी


श्रीलंकाको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्वरक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् । दश वर्षअघि रक्षामन्त्री रहेका बेला तमिल टाइगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षे आइतबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

श्रीलंकाली सेनाका पूर्वलेफ्टिनेन्ट कर्णेलसमेत रहेका राजापाक्षेले झन्डै ५३ प्रतिशत मत प्राप्त गरेको उनका प्रवक्ताले जानकारी दिए । उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन् । उनको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नुभएको छ,’ राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले बताए । उनले शपथग्रहण कार्यक्रम एक–दुई दिनमा हुन सक्ने बताए । राष्ट्रपतिमा नवनिर्वाचित राजापाक्षे पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् ।

प्रभावशाली तथा विवादास्पद नेता महेन्दा राजापाक्षे सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । सोही कार्यकालमा गोटाबाया रक्षामन्त्री रहेका थिए । नयाँ राष्ट्रपतिमा निर्वाचित राजापाक्षे ७० वर्षको छन् भने उनीसँग प्रतिस्पर्धा गर्ने प्रेमादास ५२ वर्षको छन् ।

राजापाक्षे निर्वाचित भएको नतिजालाई उनका प्रतिस्पर्धी प्रेमादासले पनि सार्वजनिक रूपमा स्वीकार गरेका छन् । निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशाप्रियाले शनिबार भएको मतदानका क्रममा कुल मतदातामध्ये झन्डै ८० प्रतिशत मतदाता सहभागी भएको बताए ।

निर्वाचनका बेला उम्मेदवारहरूले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधारलगायतका विषयलाई मुख्य एजेण्डा बनाएका थिए ।

मतदानका लागि देशभर १२ हजारभन्दा बढी मतदान केन्द्र राखिएको थियो भने ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । राष्ट्रपति चयनका लागि एक करोड ६० लाख मतदाता रहेका थिए भने ३५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । सन् २००९ मा गृहयुद्ध अन्त्य भएपछि भएको यो तेस्रो निर्वाचनमा वर्तमान राष्ट्रपति मैत्रीपाला सिरिसेना भने यस निर्वाचनमा सहभागी थिएनन् ।

सात महिनाअघि २ सय ५३ जनाको ज्यान जाने गरी भएको भएको घटनामा उनको आलोचना भएकाले उनी अहिले उम्मेदवार नबनेको विश्लेषण गरिएको छ । इस्लामिक स्टेट्स समूहसँग सम्बद्ध व्यक्तिले श्रीलंका गिर्जाघर र होटलमा शृंखलाबद्ध विस्फोटन गराउँदा कम्तीमा दुई सय ५३ व्यक्तिको मृत्यु भएको थियो ।

सरकारले त्यो घटना हुनुमा गुप्तचरी निकाय तथा सुरक्षा निकायको कमजोरी रहेको स्वीकार गरेको छ । त्यसैले अहिले श्रीलंकामा राष्ट्रिय सुरक्षा सबैभन्दा ठूलो मुद्दा बनेको छ भने उम्मेदवारले अल्पसंख्याको समानता, बेरोजगारी, अन्य सामाजिक विषय, गरिबी अन्त्य, गुणस्तरीय घर निर्माणलगायतका विषयलाई चुनावी एजेण्डा बनाएका थिए ।

अन्तर्राष्ट्रिय विषयमा भने राजापाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नुपर्नेमा जोड दिए पनि प्रेमादासले भारत र अमेरिकासँग थप सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।
रासस–एएफपी