जङ्गबहादुर राणालाई राष्ट्रिय विभूति बनाउने माग

जङ्गबहादुर राणालाई राष्ट्रिय विभूति बनाउने माग


श्री ३ जङ्गबहादुर राणाको २०९औं जन्मजयन्तीका अवसरमा असार ७ गते आइतबार राजधानीमा एक भब्य समारोहको आयोजना गरियो । नेपाली सेनाको सभाकक्षमा आयोजित समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीति अत्यन्त जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला जङ्गबहादुरको उदय भएको बताउनुभयो ।

श्री ३ जङ्ग संस्था र नागरिक शक्ति नेपालको सह-आयोजनमा नेपाली राष्ट्रियता र जङ्गबहादुरको योगदान विषयक उक्त प्रवचन कार्यक्रममा डा. जगमान गुरुङ्गले धर्म-संस्कृतिको संरक्षणमा जङ्गबहादुरको देन, डा. रमेश ढुङ्गेलले बेलायती दृष्टिमा जङ्गबहादुर, डा .श्रीराम प्रसाद उपाध्यायले जङ्गबहादुरको कुटनीति र देवप्रकाश त्रिपाठीले जङ्गबहादुरको योगदानबारे स्पष्ट गर्नुभएको थियो ।

अवकाशप्रप्त रथी सरोजप्रताप राणाको सभापतित्वमा सम्पन्न प्रवचन कार्यक्रममा ख्यातिप्राप्त ब्यवशायी क्याप्टेन विकाशजङ्ग राणाले स्वागत मन्तब्य प्रकट गर्दै जङ्गबहादुरप्रति सकारात्मक दृष्टिकोण राखिनुपर्ने धारणा प्रकट गर्नुभएको थियो । डा. जगमान गुरुङ्गले नेपालको मौलिक धर्म-संस्कृति र सभ्यताको रक्षामा जङ्गबहादुरको योगदानको चर्चा गर्दै इतिहासले उनलाई कहिल्यै भुल्न नसकिने धारणा राख्नुभयो । डा. श्रीराम प्रसाद उपाध्यायले जङ्गबहादुरको कुटनीतिक कौशलका कारण नै आजको नेपाल सम्भव भएको तर्क गर्नुभयो ।

यस्तै, डा. रमेश कुमार ढुङ्गेलले जङ्गबहादुर देशभक्त भएको तथ्यहरू प्रस्तुत गर्दै मार्क्सले जङ्गबहादुरबारे निकालेको निष्कर्ष हाम्रो सन्दर्भमा गलत रहेको स्पष्ट गर्नुभयो । बेलायतीहरूकै दृष्टिमा चाहिँ जङ्गबहादुर केवल एक देशभक्त नेपाली थिए भन्दै प्राध्यापक ढुङ्गेलले जङ्गबहादुरमाथि इतिहासले न्याय नगरेको उल्लेख गर्नुभयो । नागरिक शक्ति नेपालका अध्यक्ष देवप्रकाश त्रिपाठीले जङ्गबहादुरबाट दुरगामी राष्ट्रिय महत्वका चवन्न भन्दा बढी कार्य भएको स्पष्ट पार्दै उनलाई राष्ट्रिय बिभूति घोषणा गर्न माग गर्नुभयो ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको समारोहलाई सम्बोधन गर्दै उहाँले जङ्गबहादुरबाट मुलुकमा राजनीतिक स्थिरता कायम गर्न भएका प्रयासहरूको स्मरण गर्नुभयो । भण्डारीले अगाडि भन्नुभयो- इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो । त्यसैले जङ्गबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पनि हामीले वस्तुगत तथा सन्तुलित दृष्टिकोणबाट हेर्नु आवश्यक छ ।’

नेपालको राजनीति अत्यन्त जटिल र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेला राष्ट्रिय राजनीतिमा जङ्गबहादुर राणाको उदय भएको स्मरण गराउँदै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन राज्यसत्ता आन्तरिक षड्यन्त्र, शक्ति संघर्ष तथा राजनीतिक अस्थिरताले आक्रान्त रहेको र यस्तो विषम परिस्थितिमा जंगबहादुरले शासनको नेतृत्व सम्हाल्नुली लामो समयसम्म राज्यसत्तामा आफ्नो प्रभाव कायम राख्न सफल हुनुभएको उल्लेख गर्नुभयो । यस अवधिमा जङ्गबहादुर राणाले देशमा राजनीतिक स्थिरता कायम गर्ने प्रयास गर्नुका साथै प्रशासनिक संरचनालाई व्यवस्थित र सुदृढ तुल्याउनुभएको उहाँको भनाइ थियो ।

भण्डारीले भन्नुभयो- ‘राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप वि.सं. १९१० मा उहाँद्वारा जारी मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताका रूपमा लिन सकिन्छ । यद्यपि त्यस ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित थिए, जुन आजको मूल्य-मान्यताका दृष्टिले स्वीकार्य मानिँदैनन् । तथापि, इतिहासको मूल्याङ्कन गर्दा त्यस समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्नु आवश्यक हुन्छ ।’

‘यसका साथै, जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय मानिन्छन् । तीमध्ये तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सतिप्रथालाई निरुत्साहित गर्ने पहल प्रमुख मानिन्छ । इतिहासकारहरूका अनुसार उहाँले आफ्ना पत्नीहरूलाई आफ्नो मृत्युपछि सती जान नदिने व्यवस्था गर्नुभएको थियो । यद्यपि यी प्रयासहरू तत्काल पूर्ण रूपमा सफल हुन सकेनन् र सतिप्रथाको औपचारिक अन्त्य पछि चन्द्रशमशेरको शासनकालमा मात्र भयो । तथापि, सामाजिक सुधारका प्रारम्भिक पहलकर्ताहरूमध्ये जङ्गबहादुरलाई स्मरण गरिन्छ ।’

जङ्गबहादुरको अर्को महत्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षासँग सम्बन्धित रहेको जानकारी दिँदै उहाँले भन्नुभयो- ‘उन्नाइसौँ शताब्दी विश्वव्यापी रूपमा औपनिवेशिक विस्तारको युग थियो । त्यस समयमा दक्षिण एसियाको ठूलो भू-भाग ब्रिटिश साम्राज्यको अधीनमा गइसकेको थियो । यस्तो परिस्थितिमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो । यस उपलब्धिको श्रेय जङ्गबहादुरले खेल्नुभएको भूमिकालाई दिनुपर्छ । उहाँले बेलायतको भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभयो । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई केही हदसम्म व्यवस्थित बनायो । यसै सन्दर्भमा, नेपाल र ब्रिटिश भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जङ्गे पिलर’ पनि उल्लेखनीय मानिन्छन्, जसले सीमा स्पष्टता र प्रशासनिक तथा कूटनीतिक स्थिरतामा योगदान पुर्‍याएको थियो ।’

जङ्गबहादुरका कतिपय निर्णयहरू इतिहासमा विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन गरिएका छन् । तर सन् १८५७ को भारतीय विद्रोह (सिपाही विद्रोह)को दमन गर्न सैन्य सहयोग गरेवापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र अर्थात् ‘नयाँ मुलुक’ फिर्ता पाउँनु उहाँको शासनकालसँग जोडिएको एक महत्वपूर्ण राष्ट्रिय उपलब्धिका रूपमा स्मरण गरिन्छ ।’

पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो- ‘जङ्गबहादुरको जीवन र कार्यको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ, राष्ट्रको हित र स्वतन्त्रताको रक्षा आवश्यक छ, तर त्यससँगै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विस्तार पनि उत्तिकै आवश्यक छ । राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरण बिच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हो ।’

‘आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको छ । आज राष्ट्रियताको अवधारणा भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारहरूको प्रवर्द्धनसँग पनि जोडिएको छ । इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट सिक्दै हामीले अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्छ’, भण्डारीले भन्नुभयो ।