अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले मुलुकको उत्तरमा सञ्चालन गरेको एक सैन्य कारवाहीमा कम्तीमा ३२ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ । आतङ्ककारी समूहले गस्तीमा रहेको सैन्य टोलीमाथि आक्रमण गरेपछि सेनाले प्रतिकारवाही गरेको थियो ।
यस कारवाहीका क्रममा एक जना सिपाहीको पनि मृत्यु भएको छ । एक महिनाअघि मात्र एक क्यानाडेली खानी कम्पनीका मजदूर बोकेको सवारी साधनलाई लक्षित गरी आतङ्ककारीले गरेको आक्रमणमा ३७ जना सर्वसाधारणको ज्यान गएको थियो ।
सेनाले चलाएको कारवाहीका क्रममा लोरुमस्थित योरसालाबाट यौनदासीका रूपमा बन्धक बनाएर राखिएका केही महिलाको उद्धार गरिएको छ । विद्रोहीबाट सेनाले हातहतियार र अरू युद्ध सामग्री पनि बरामद गरेको थियो ।
गरिबीको चपेटामा पिल्सिएको बुर्किना फासोमा सन् २०१५ यता शुरु भएको अतिवादी जिहादी आक्रमणबाट सात सयभन्दा बढीको मृत्यु भइसकेको एएफपीले जनाएको छ ।
गाउँगाउँमा शुरु भएको हिंसाका कारण पाँच लाखभन्दा बढी मानिस अन्यत्र पलायन भएका छन् । यी आक्रमणको जिम्मेवारी अल–कायदा र इस्लामिक स्टेटसमेतका अनेक समूहले लिने गरेका छन् ।
मुलुकको कमजोर हातहतियार र तालिमप्राप्त सुरक्षाफौजको फाइदा उठाएर हिंसात्मक कारवाहीहरू वर्षैपिच्छे बढ्दै गएका छन्, र सन् २०१९ यता यो अझ बढेको छ ।
बुर्किना फासोका छिमेकी मुलुकहरू माली र नाइजरसमेतमा फैलिएको यस हिंसात्मक कारबाही रोक्न अफ्रिकी सेनाका साथै फ्रेन्च र अमेरिकी सैनिक तैनाथ गरिए पनि सफलता हासिल हुन सकेको छैन ।
प्रतिक्रिया