कर्मकाण्डीयभन्दा कम अन्धविश्वासी होइनन् कम्युनिस्ट

कर्मकाण्डीयभन्दा कम अन्धविश्वासी होइनन् कम्युनिस्ट


■ ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’

केही मानिसहरू धर्म र साम्यवादलाई विपरीत ध्रुवका वस्तुका रूपमा व्याख्या गर्छन् । धर्ममा ईश्वर र स्वर्ग प्राप्तिको जुन कथा छ, साम्यवादमा पनि सबै मानिस समान हुन सक्ने वा बन्न सक्ने त्यस्तै कथा छ । केवल फरक यत्ति हो कि धर्ममा मरेपछि मात्र स्वर्ग वा ईश्वर प्राप्ति हुन्छ भने साम्यवादमा यही जुनीमा समसानता प्राप्त हुन्छ ।

त्यसमा पनि साम्यवादले शासनविहीन राज्यसत्ताको परिकल्पना गरेको २ सय वर्षभन्दा बढी समय भयो । जर्मनीका कार्लमाक्र्सद्वारा प्रतिपादित यो सिद्धान्तलाई सोभियत रुसका भीआई लेनिनले आजभन्दा १०३ र जनवादी चीनमा माओ त्से तुङले पौने १ सय वर्षअघि लागू गरेका थिए । दुवै देश विकसित त छन् नै, तर त्यहाँ सामान्य समाजवादसमेत छैन । माक्र्सले कम्युनिस्ट घोषणापत्रमा न्यूनतम कार्यक्रम समाजवाद र अधिकतम कार्यक्रम साम्यवाद भनेर यसलाई २ भागमा विभक्त गरेका छन् । समाजवादमा नै निजी घर, निजी जमिन र निजी परिवारको उन्मूलन हुनेछ भनिएको छ । सबै निजी कुराहरू उन्मूलन हुँदै गएपछि केही समयपछि शासनसत्ताको आवश्यकता पर्दैन तथा राज्य वा विश्व सत्ताविहीन हुनेछ र साम्यवाद आउनेछ भनिएको छ । तर, जनवादी क्रान्ति भएको सय वर्षमा पनि कतै साम्यवाद आएको देखिएन ।

मार्क्सको उदयपश्चात् विश्वमा ठूलाठूला युद्धहरू वा सङ्घर्षहरू भए । तर, मानिसभित्र हुने अहम् स्वभावले गर्दा साम्यवादी सिद्धान्तभित्र विकृत पुँजीवाद विकसित हुँदै गयो । स्वभावैले मानिस पृथ्वीका अरू जीव प्राणीभन्दा बढी स्वार्थी जीव हो । साथै मानिस मात्र यस्तो जीव हो जो परिश्रमद्वारा आर्थिक उपार्जन गर्छ र निजी घर र निजी परिवारमा रमाउन चाहन्छ । यो प्राकृतिक नियमै पनि हो । मानिस प्रकृतिभन्दा भिन्न हुन्छ भन्नु एकप्रकारको दुस्साहस पनि हो । माक्र्स के हिसाबले यो दुस्साहसको बाटो हिँडे, उनै जानुन् । हुन सक्छ उनले विशुद्ध मनले लागेको कुरा लेखेर सिद्धान्त बनाए । मार्क्स अर्थशास्त्रका ठूला विद्वान् हुन्, यसमा दुईमत छैन । तर, उनले देखाएको राजनीतिक बाटो वा चिन्तन प्रकृतिगत विपरीत थियो ।

उनले यो सिद्धान्त लागू गर्न एक राजनीतिक संयन्त्र निर्माण गरे त्यो हो कम्युनिस्ट पार्टी । अरू पार्टीद्वारा साम्यवाद आउने कुरामा उनले विश्वास गरेनन् । माक्र्सवादलाई प्रकाशनमा ल्याउन फ्रान्सका फ्रेडरिक एङ्गेल्स नामका एक पुँजीपतिले ठूलो सहयोग गरे । दुवैले फ्रेञ्च भाषामा प्रचलित कम्युनलाई कम्युनिज्म संज्ञा दिएर पछि कम्युनिस्ट पार्टी नाम राखे । कम्युनको अर्थ हो सामूहिक । काम गर्ने सामूहिक, बस्ने र खाने, सुत्ने सबै सामूहिक भन्ने यस सिद्धान्तको आदर्श बन्यो । यसका लागि माक्र्स एंगेल्स दुवैले मिलेर सोसेलिस्ट र पछि त्यसलाई अन्तर्राष्ट्रिय समाजवाद भन्ने सङ्गठन खोले । यो सङ्गठनभित्र उदारवादी र अनुदारवादी नेताहरूको झगडाले उग्ररूप लिँदै गएर १९१४ तिर विघटन भयो । मार्क्सको विचारका अनुयायीले सर्वहारावर्गको राज्यसत्ता र विपक्षीले प्रजातान्त्रिक पद्धतिद्वारा समाजवादको विकास गर्न सकिने तर्कहरू विकसित हुँदा सोसेलिस्ट इन्टरनेसनल चलन सकेन । पछि रुसका लेनिनले १९१७ को अक्टोबर क्रान्तिद्वारा सत्ता हत्याएपछि १९१९ मा फेरि पुनर्जीवित गरे । तर, उनले अघिल्लो सङ्गठनलाई गद्दार घोषणा गर्दै सम्पूर्ण सोसेलिस्ट इन्टरनेसनल सङ्गठनलाई कम्युनिस्ट पार्टीको सङ्गठनका रूपमा विकास गर्ने उद्घोष गरे । त्यसपछि विश्वमा कतै सर्वहारावर्गको क्रान्ति पनि भएन, सत्तामा सर्वहारावर्ग पनि रहेन । तसर्थ आजसम्म समाजवाद वा साम्यवाद स्वैरकल्पना मात्र बनिरहेको छ ।

ईश्वरवादीहरू जति जडसूत्रवादी हुन्छन्, कम्युनिस्टहरू पनि उत्तिकै जडसूत्रवादी हुन्छन् । आजसम्म मरेर होस् या नमरी कसैले ईश्वर देखेको छैन भने त्यसरी नै साम्यवाद कसैले देखेको छैन, पाउने त परको कुरा । साम्यवाद आउने छनकसम्म पनि देखिएन । सम्भव पनि होइन । किनकि मानिसको दिमाग समान नहुनाको कारण उसले प्राप्त गर्ने कुरा पनि समान हुँदैन । जब प्राप्त गर्ने कुरा समान हुँदैन मानिस यथार्थमा समान हुँदैन । व्यवहारमै हेरियो भने कम्युनिस्टहरू नारी समानताको कुरा गर्छन् तर ७३ वर्ष रुसमा र ७० वर्ष चीनमा कम्युनिस्ट पार्टीले शासन गर्दा त्यहाँ एकजना महिला राष्ट्रपति वा प्रधानमन्त्री भएको उदाहरण छैन । त्यति मात्र होइन, विश्वका कुनै पनि कम्युनिस्ट पार्टीको नेतृत्व तहमा महिला छँदै छैनन् । उनीहरूले आरोपित गरेका प्रजातन्त्रवादी पार्टीमा महिलाहरू राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्ष छन् । यसर्थ प्रजातन्त्रवादीका तुलनामा कम्युनिस्टभित्र महिलालाई बढी दासीको भूमिकामा राखिएको हुन्छ भन्ने प्रमाणित गर्छ ।

प्रायः कम्युनिस्ट पार्टीको ब्यानरमा किसान मजदुर वर्गको कुरा राखिएको हुन्छ, तर व्यवहारमा कम्युनिस्ट पार्टीका उच्च तहमा रहेका व्यक्तिहरूले आफ्नो खेतसम्म देखेका हुँदैनन्, खेतमा काम गर्ने कुरा त परै जाओस् । कुनै पनि कम्युनिस्ट पार्टीमा मजदुर नेता भएको उदाहरण नै छैन । रुसका स्टालिन एकजना सार्कीको छोराबाहेक सबै कम्युनिस्ट नेताहरू सम्भ्रान्त वर्गबाटै आएका हुन् । आजसम्म कुनै कम्युनिस्टले मजदुरवर्गको उन्मुक्ति गरेको विश्वमै उदाहरण छैन । जसरी ईश्वरले आपतमा परेको मानिसलाई आएर उद्धार गरोस् ।

ईश्वरवादमा ईश्वरले पापीलाई पनि मुक्ति गरिदिन्छन् भन्ने कल्पना गरिएको छ, ठ्याक्कै कम्युनिस्टमा त्यो मेल खान्छ । ईश्वरवादमा धार्मिक अन्धविश्वास जस्तो छ, कम्युनिस्टमा पनि त्यस्तै अन्धविश्वास मौजुद छ । जस्तो कि कम्युनिस्ट पार्टीले जितेपछि वा सत्ता लिएपछि सबै मानिस समान हुन्छन्, दुःखको लेस मात्र पनि हुँदैन आदि आदि । धर्मभीरुहरूको बाहुल्य भएको ठाउँमा कम्युनिस्ट पार्टीले सत्ता जित्ने एउटा कारण यो पनि हो । हाम्रैजस्तो सराद्धे–फराद्धे गर्ने कर्मकाण्डीयहरूको बाहुल्य भएको ठाउँमा कम्युनिस्ट निकै मजबुत छन् । दुवैको अन्धविश्वासमा समान धारणा छ । यी दुवै मानव मुक्तिको वकालत गर्छन् । एकथरिले कर्मकाण्डद्वारा, अर्काथरिले समानताद्वारा । विशुद्ध मन न कर्मकाण्डीयमा छ, न कम्युनिस्टमा । बरु ईश्वरवादीमा यसो गरिबगुरुवालाई दान–दक्षिणा गर्दा मरेपछि पाइन्छ भन्ने विश्वास छ भने आमकम्युनिस्टमा त त्यो पनि छैन । यसप्रकार हरेक कम्युनिस्टहरू धर्मभीरुभन्दा पनि गएगुज्रेका हुन् ।

ईश्वरवादमा ईश्वरवाद लागू गर्ने पुरोहित तोकिन्छन्, कम्युनिस्टमा पनि नेता हुन्छ, उसलाई कुनै प्रकारको कानून लाग्दैन । यी दुवैले जसलाई जे आरोप लगाए पनि समाजले मान्नैपर्छ । जसरी कुरान वा बाइबलको विरोध गर्न पाइँदैन, त्यसरी नै कम्युनिस्ट पार्टीको विरोध गर्न पाइँदैन । आज हामी चीनमा गयौँ भने यही कुरा देख्न सक्छौँ । यस्ता कुराबाट दिक्क भएर माक्र्सवादलाई विकसित र सभ्य बनाउन परिमार्जित समाजवादको विकास भएको थियो ।

नेपालमा विश्वेश्वरप्रसाद कोइरालाले प्रजातान्त्रिक समाजवाद भन्ने सिद्धान्त बनाए । राजनीतिमा प्रजातन्त्र र अर्थप्रणालीचाहिँ समाजवादी भन्ने यो विचारको आदर्श हो । प्रजातान्त्रिक समाजवादले कम्युनिस्ट सर्वसत्तावादको ठाउँमा स्वतन्त्रताको वकालत गर्छ । पूर्वी युरोपमा यस्तो विचार चलेको पनि थियो । यही प्रजातान्त्रिक समाजवादका कारण आज राजनीतिमा युरोप बराबर सभ्य कुनै महादेशहरू छैनन् । कुनै बेला बीपीको यही विचारलाई उग्रविरोध गर्दै आएका नेपालका कम्युनिस्टहरूले पछि आएर येनकेन प्रकारेण त्यही विचार लिन थाले । सोभैm प्रजातान्त्रिक समाजवाद भन्दा लाज हुने भएर बहुदलीय जनवाद भन्न थाले । तर, यहाँ बीपीका कतिपय मूलभूत विचारहरूचाहिँ कटाएको पाइन्छ । जस्तो कि धार्मिक स्वतन्त्रता, ८० प्रतिशत हिन्दू भएकाले बहुमतका आधारमा धर्मसापेक्ष देश हुनुपर्ने तथा राजाका विषयमा जनमतद्वारा मात्र निर्णय गर्ने बीपीका विचार कम्युनिस्टले लिएनन् । बरु नेपाललाई इसाईकरण गरेर साम्राज्यवादीको गुलामी गर्ने कम्युनिस्टहरूको नीतिमा अहिले काङ्ग्रेससमेत फसेको देखिन्छ ।

बीपीले बडो दूरदर्शिताका साथ काङ्ग्रेसलाई नेतृत्व गरेका थिए । दुई महाशक्ति देश चीन र भारतका बीचको देशमा सन्तुलित राजनीति आवश्यक भएर प्रजातान्त्रिक समाजवादको निर्माण गरिएको थियो । बीपीको देहान्तपछि केही काल किसुनजी हुँदासम्म पनि यो विचार काङ्ग्रेसमा मरेको थिएन । तर, गिरिजाप्रसादले झिनामसिना स्वार्थमा प्रजातान्त्रिक समाजवाद नै तिलाञ्जली दिए । काङ्ग्रेसको नेतृत्वमा समाजवाद हुनुपर्नेमा कम्युनिस्टको नेतृत्वको समाजवादमा काङ्ग्रेस थेचारियो । सुशील’बाकै पालामा पनि काङ्ग्रेसले बीपीको समाजवाद मान्ने घोषणा गरेको भए आज काङ्ग्रेसकै नेतृत्व रहिरहन्थ्यो । आजको कम्युनिस्ट सर्वसत्तावाद ल्याउन काङ्ग्रेसको ठूलो योगदान छ ।

दुई ठूला शक्तिराष्ट्रको हेपाइमा मुलुक फसिरहेको छ । आज नेपाल–भारत सीमाको कुरा उठेको छ, भोलि नेपाल–चीनको सीमा विषयमा कुरा नउठ्ला भन्न सकिन्न । हुन सक्ला अब कम्युनिस्टहरूले नेपाललाई चीनको दास बनाउन खोज्नेछन् । सधैँभरि परनिर्भर बनाएर पछि कसैको दास हुनुपर्ने अवस्था कम्युनिस्टहरूले नबनाउलान् भन्न सकिन्न । अब काङ्ग्रेसले आफ्ना विचार र दर्शनको खोजी गर्नुपर्ने बेला टर्दै जान लागिरहेको छ । बीपीले भनेजस्तै अडिटको फर्मुलाअनुसार कम्युनिस्टलाई सत्ताबाट फ्याँक्न काङ्ग्रेसले महाभारतको सामना गर्नुपर्नेछ ।