‘संविधान संशोधन गरेर हामीले आफूलाई सच्याउनु पर्छ’ : कांग्रेस नेता लेखक

‘संविधान संशोधन गरेर हामीले आफूलाई सच्याउनु पर्छ’ : कांग्रेस नेता लेखक


नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अस्थिरताको जडबाट मुलुकलाई जोगाउन कमीकमजोरी सुधारेर संविधान संशोधन गरी अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

कन्चनपुरको बेलौरी नगरपालिका-९ रतनपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख सचेतक लेखकले केन्द्रमा ३२ सिट भएको पार्टीलाई प्रधानमन्त्री र सुदूरपश्चिम प्रदेशमा चार सिट भएको पार्टीलाई मुख्यमन्त्री बनाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै भने, ‘यो जुन अस्थिरताको जड छ, यसबाट मुलुकलाई जोगाउन हामीले आफूलाई सच्याउनु पर्छ, हाम्रा कमीकमजोरी छन्, अब संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ ।’

संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने आशय पनि नेता लेखकले व्यक्त गरे । उच्च मनोबलका साथ पार्टीको गतिविधि बढाउन नेता तथा कार्यकर्तालाई उनको आग्रह थियो ।

२०७३ सालमा आफू मन्त्री हुँदा सुरु गरिएको कञ्चनपुरको दक्षिण क्षेत्रको हुलाकी सडक योजना अझै पूरा नहुनुमा निर्माण कम्पनीको बेवास्ता भएको गुनासो गर्दै उनले भने, ‘दैजी बैल्डाडी, बेलौरी-डोकेबजारसम्म हुलाकी सडक अझै पूरा नहुनुमा बजेट अभावलगायत कारण होइनन्, सडक निर्माण पूरा गर्न सम्बन्धित निकायमा फेरि पहल गर्छु ।’

photo: rss