अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानी तालिवान समूहसँग वार्ता सुरू भएको जनाएका छन् । अमेरिकी समाचार संस्था ‘फक्स न्यूज’को ‘फक्स एण्ड फ्रेन्ड्स’ कार्यक्रमका लागि दिएको अन्तवार्तामा उनले तालिवान समूहसँग सम्झौताका लागि वार्ता गरिरहेको जानकारी दिँदै भने- ‘हेरौँ के हुन्छ ।’
अमेरिकी राष्ट्रपतिको उक्त भनाई तालिवान समूहले करिव तीन वर्ष आफ्नो कब्जामा लिएका विश्वविद्यालयका दुई प्राध्यापक केभिन किङ (अमेरिका) र टिमोथी विक्स (अष्ट्रेलिया)लाई गत मङ्गलबार रिहा गरेपछि आएको हो । किङ र विक्स दुवै जना काबुलबाट सन् २०१६ को अगस्ट महिनामा अपहरणमा परेका थिए ।
अफगानिस्तानले उनीहरूसहित १० जना अफगानी सेनाको रिहाइका लागि जेलमा रहेका अनास हक्कानीसहित तीन तालिवानी नेतालाई छोड्ने सहमति केही दिन पहिले भएको थियो । एएनआईले जनाएअनुसार कैदीहरूको आदानप्रदानले तालिवानसँगको शान्तिवार्ता पुनः सुरू हुने विश्वास जगाएको छ ।
गत सेप्टेम्बरमा अमेरिकी दुई नागरिकको मृत्युपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमार्फत एक सन्देश लेख्दै तालिवानसँगको वार्ता भङ्ग भएको जनाएका थिए । तालिवान समूहसँग वार्ता जारी रहेका समय पनि आक्रमणलाई निरन्तरता दिएको भन्दै अमेरिकाले एकतर्फी रूपमा वार्ता भङ्ग भएको घोषणा गरेको थियो ।
कैदीहरूको आदानप्रदानका लागि र त्यसपछि भएका नियमित प्रयासले वार्ता पुनः सुरू हुने विश्वास जगाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खान, अफगानी राष्ट्रपति असरफ घानी र कतारका इमिर शेख तामिम विन हमाद अल थानीसँग फोनवार्ता गरी प्राध्यापकहरूको रिहाइ गर्न गरेको पहलका लागि धन्यवाद ज्ञापन गरेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए ।
प्रतिक्रिया