केन्यामा पहिरोमा परी ३७ को मृत्यु

केन्यामा पहिरोमा परी ३७ को मृत्यु


केन्यामा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ ।

सरकारी अधिकारीअरूले शुक्रबार राति आएको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि गरेका हुन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने वेस्ट पोकोटमा घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

राष्ट्रपति केन्याटाले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।

प्राकृतिक स्रोतसाधन र भौतिक संरचनाको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलको निर्माण पहिरोको कारण रहेको बताइएको छ

त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिनेतर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गरेका छन् ।

केन्याका गृहमन्त्री फ्रेड मातिअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम भइरहेको जानकारी दिए । गृहमन्त्री मातिअङले
भने, ‘उद्धार तथा राहतको काम भइहेको छ, त्यसका लागि सुरक्षाकर्मीको टोली र मानवीय सहायतासम्बन्धी निकायका व्यक्ति खटिएका छन् ।’

प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको उनले जानकारी दिए । थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उनको भनाइ छ ।

पहिरो प्रभावितलाई अत्यावश्यक सेवा सुविधाको अभाव रहेको बताइएको छ । केन्याको यो घटनास्थल छिमेकी मुलुक युगान्डा र दक्षिणी सुडानबाट पनि नजिक पर्दछ ।

प्राकृतिक स्रोतसाधन र भौतिक संरचनाको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलको निर्माणलगायतका कारणले पहिरो गएको बताइएको छ ।
रासस–सिन्ह्वा