कङ्गोमा आइतबार (८ मंसिर) भएको विमान दुर्घटनामा परी २७ यात्रुको मृत्यु भएको छ ।
धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै प्राविधिक समस्या आएर विमान प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना बस्तीमा खसेको थियो । विमानमा दुई चालका दलका सदस्यसहित २७ यात्रु रहेका थिए । उनीहरूलाई जीवित भेट्ने सम्भावना निकै कम भएको उद्धारका कार्यका लागि घटनास्थलमा तैनाथ सुरक्षाकर्मीले बताएको एएफपीले जनाएको छ ।
२३ जनाको मृत शरीर घटनास्थलबाट निकालिएको गोमास्थित उद्धार टोली संयोजक जोसेफ माकुन्दीले जानकारी दिएका छन् । गोमा विमानस्थलका अधिकारी रिचार्ड मङ्गोलोपाले दुर्घटनामा कुनै पनि यात्रु जीवित उद्धार गर्ने सम्भावना क्षीण रहेको जनाएका पनि समाचारमा उल्लेख गरिएको छ ।
गोमाबाट उत्तरी क्षेत्रमा रहेको बेनीका लागि विहान करिब ९ बजे उडेको ‘डोर्नियर–२२८’ विमानस्थलबाट ३५० किलोमिटर टाढा आवास क्षेत्रमा खसेको कङ्गोका अधिकारीहरूले पुष्टि गरेका छन् ।
सम्बन्धित विमान कम्पनीका एक प्राविधिकले प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त भएको बताएका स्थानीय अनलाइन एकुलेट डट कमले उल्लेख गरेको छ ।
विमान वस्तीमा खसेको तर त्यहाँ कतिको मृत्यु भएको वा घाइते भएको भन्ने एकीन जानकारी आइसकेको छैन ।
प्रतिक्रिया