स्कटल्याण्डस्थित एडिनबर्ग युनिभर्सिटीले श्रीलंकाका आदिमानवहरूको नौ वटा खप्पर तिनका वंशजलाई फर्काइदिएको छ । विशेषज्ञहरूले श्रीलंकाको वेद्दा जनजातिको सदस्यहरूका यी खप्पर दुई सय वर्ष भन्दा ज्यादा पुरानो भएको आँकलन गरेका छन् ।
कम्तीमा पनि सय वर्षपहिले सङ्कलन गरिएका ती खप्पर युनिभर्सिटीमा शरीर रचना विज्ञान सङ्ग्रहअन्तर्गत महत्वपूर्ण सामग्रीका रूपमा रहेका थिए । आदिमानवका ती खोपडी एवम् हड्डीहरू उक्त युनिभर्सिटीको प्लेफेयर पुस्तकालयको एक कार्यक्रममा वेद्दा प्रमुख वन्निया उरुवारिगेसमक्ष पेश गरिएको थियो ।
सो अवसरमा वन्नियाले भने– ‘हाम्रा मृतक पूर्वज वेद्दा समाजका लागि निकै महत्वपूर्ण छन् । प्रत्येक वर्ष हामी पूर्वजको सम्झना र सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने गर्छौं । यतिका वर्षदेखि हाम्रा पूर्वजका अवशेष एडिनबर्गमा भए पनि उनीहरूको आत्माचाहिँ श्रीलंकामा हामीसँगै थियो । अब हाम्रा पूर्वजहरूको भौतिक अवशेष तथा आत्माको मिलन भएको छ र यसका लागि म विश्वविद्यालयप्रति आभार प्रकट गर्दछु । यो म र मेरा मान्छेहरूको लागि निकै महत्वपूर्ण क्षण पनि हो ।’
त्यसो त अझै पनि यो स्पष्ट भइसकेको छैन कि वेद्दा जनजातिका यी अवशेषहरू एडिनबर्ग युनिभर्सिटीको सङ्ग्रहको हिस्सा कसरी बन्न पुग्यो । ज्ञातव्य छ, यस युनिभर्सिटीमा १२ हजार पुराना बस्तु तथा अवशेषहरू राखिएका छन् ।
शोधकर्ताहरूका अनुसार वेद्दा जनजातिका मानिस पहिले श्रीलंकाको घना जङ्गलहरूमा शिकारीको रूपमा जीवन व्यतीत गर्दथे । बीबीसीका अनुसार यस्तो जानकारी मिलेपछि एडिनबर्ग युनिभर्सिटीले जब यी हड्डीहरू वेद्दा समुदायका मानिसलाई फर्काउने प्रस्ताव राखे, उनीहरूले सहर्ष उक्त प्रस्ताव स्वीकार गरेका थिए ।
प्रतिक्रिया