अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने ब्लुमबर्गको औपचारिक घोषणा

अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने ब्लुमबर्गको औपचारिक घोषणा


अमेरिकी राष्ट्रपतिकाका लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन् । न्युयोर्क सिटीका पूर्व मेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रुपमा सामेल भएका हुन् ।

आर्थिक पत्रिका फोब्र्सका अनुसार अमेरिकी धनाढ्यको सूचिमा आठौँ नम्बरमा रहेका ब्लुमबर्गको सम्पती ५४.४ बिलियन अमेरिकी डलर रहेको छ ।

उम्मेवारी घोषणाका लागि जारी वक्तव्यमा ब्लुमबर्गले ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुननिर्माणमा लागि’ आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन् ।

पचास अर्बभन्दा बढी अमेरिकी डलर का मालिक ७७ वर्षका ब्लुमबर्गले अमेरिकाको पुनःनिर्माण र ट्रम्पको पराजयका लागि निर्वाचनमा जाने निर्णय लिएको बतएका एएफपीले जनाएको छ । उनको उम्मेदवारीको घोषणा अमेरिकामा पहिलो प्राथमिक मतदानभन्दा तीन महिना पहिले नै भएको हो, जबकि राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट उम्मेदवारी पाउन उनले उक्त दलका डेढ दर्जन नेताहरूलाई जित्नुपर्नेछ ।

उनलाई अहिलेसम्ममा उम्मेदवारीका लागि डेमोक्रेटिकका नेताहरू, पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजको चुनौती प्रमुख रहेको देखिन्छ ।

उम्मेदवारीको घोषणा गर्दै ब्लुमबर्गले अमेरिकी राष्ट्रपति (रिपब्लिकन नेता) ट्रम्पलाई हराउन डेमोक्रेटिकबाट आकांक्षी रहेका उम्मेदवारहरू आवश्यकता जत्तिकै बलियो नरहेको बताए । उनले भने, ‘हामीले निर्वाचन कुनै पनि हालतमा जित्नुपर्छ ।’

सन् २००१ मा न्युयोर्कको मेयर भएका ब्लुमबर्गले लगातार तीन कार्यकाल (१२ वर्ष) मेयर बनेका थिए ।