उच्च दर्जाका अधिकारीहरूको मुद्दा अनुसन्धान गर्दै आएका अधिकारीलाई ‘ज्यान मार्ने धम्की’ आएको भन्दै श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकृत भागेको त्यहाँको प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।
पछिल्लो समय श्रीलंकाको सरकारमा आएको परिवर्तनसँगै गुप्तचरका अनुसन्धान अधिकृत निशान्त सिल्भाले स्वीजरल्याण्डसमक्ष शरण मागेको सञ्चारमाध्यमहरूले बताएका छन् ।
‘सिल्भाले आफू कार्यरत राष्ट्रिय अपराध अनुसन्धान विभागका उच्च अधिकारीलाई सूचना नदिइकन नै आइतबार श्रीलङ्का छोडेका छन्,’ प्रहरीद्वारा जारी विज्ञप्ति उद्धृत गर्दै एएफपीले जनाएको छ । ‘यी अधिकृतमाथि विगत साढे चार वर्षको अवधिमा विभिन्न मुद्दामा पूर्वाग्रही बनेका आरोपहरू लागेका छन्,’ प्रहरीले सिल्भाको नाम उल्लेख नगरिकन विज्ञप्तिमा उल्लेख गरेको छ ।
यही नोभेम्बर १६ मा भएको निर्वाचनबाट श्रीलङ्काको राष्ट्रपतिमा गोतावाय राजापाक्ष निर्वाचित भएपछि सिल्भालाई ज्यान लिने धम्की आएको तर यो धम्की कसबाट आएको भन्ने प्रस्ट नगरिएको ‘द डेली मिरर’ पत्रिकाले लेखेको छ ।
सिल्भाले पूर्व राष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री महिन्दा राजापाक्षको कार्यकालमा भएका भनिएका उच्च ओहोदाका अधिकारीको सम्लग्नतामा भएका हत्या र भ्रष्टाचार मुद्दा हेरेको र त्यसमा पूवाग्रह देखाएको आरोप लगाइने गरेको छ ।
सिल्भालाई वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षले गत वर्ष छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि सिआडीको जिम्मेवारीबाट हटाइएको थियो, तर राजापाक्षको बहिर्गमनपछि पुनः जिम्मेवारीमा ल्याइएको थियो ।
सिल्भाले सन् २००९ मा पत्रकार तथा सम्पादक लासान्था मनिलाल विक्रमातुङ्घेको हत्या लगायतका मुद्दाहरू हेरेका थिए ।
प्रतिक्रिया