कुरा सङ्ख्याको कि मापदण्डको ? -बबिता बस्नेत

कुरा सङ्ख्याको कि मापदण्डको ? -बबिता बस्नेत


नेपालका ‘शीर्षस्थ’ नेताहरूलाई जे बोल्न पनि छुट छ । आफूलाई अलिकति मात्र उत्तरदायी नागरिक ठान्नेहरूलाई आफूले बोलेको कुरा पुर्‍याउन सकेन भने बडो अप्ठ्यारो लाग्छ, ‘सोचेर बोल्नुपर्ने…!’ भनेर कहिलेकाहीँ त हीनताबोध पनि हुन्छ । तर, हाम्रा नेताहरूलाई के बोल्दै छु, किन बोल्दै छु र यो बोलीको असर कहाँ केसम्म पर्छ भन्ने कुरामा अलिकति पनि पर्वाह रहेको देखिँदैन । त्यस्ता प्रसङ्गहरू अनगिन्ती छन्, तर यहाँ माओवादी लडाकु व्यवस्थापनको सन्दर्भमा मात्रै चर्चा गरिनेछ । मुलुकको शान्तिप्रक्रिया सुरु भएदेखि नै हामीकहाँ लडाकु व्यवस्थापनको चर्चा सुरु भएको हो, जसका लागि केही काम पनि भए, नेपालका नाममा धेरै पैसा खर्च गरेर संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनले लडाकु गणना र हतियार भण्डारणको काम गर्‍यो । शान्तिप्रक्रियाको एउटा प्रमुख पाटोका रूपमा रहेको लडाकु व्यवस्थापन र हतियारको कुरा यो मुलुकमा विगत पाँच वर्षदेखि लगातार चर्चा र बहसको विषय बन्दै आएको छ । सुरुसुरुमा हतियार र लडाकुको सङ्ख्याकै बारेमा अनेक तथ्याङ्क बाहिर आए पनि अहिले माओवादीका सातवटा शिविरमा करिब तीन हजार हतियार कन्टेनरमा राखिएका छन् । यसैगरी विभिन्न शिविरमा रहेका माओवादी लडाकुको सङ्ख्या १९ हजार ६ सय २ रहेको छ जसमा तीन हजार आठ सय ४६ जना महिला छन् । पछिल्लो प्रमाणीकरणअघि माओवादी लडाकुको सङ्ख्या ३२ हजार दुई सय ५० थियो, अयोग्य ठहरिएका १२ हजार ६ सय ४८ जना पूर्वलडाकुमध्ये केही अहिले सङ्घर्षमा छन ।
शिविरमा रहेका १९ हजार ६ सय दुई माओवादी लडाकुका विषयलाई लिएर नेताहरूले अहिले जे-जस्ता प्रतिक्रियाहरू दिँदै आएका छन् ती आर्श्चर्यजनक छन् । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले तीन हजारसम्म लडाकुलाई सेनामा समायोजन गर्न सकिने बताएका छन्, उनै कोइरालाले केही समयअगाडि पाँच हजार आसपासको कुरा गरेका थिए । नेकपा एमालेका नेता माधव नेपालको बोलीमा कहिले सात हजार कहिले आठ हजार त कहिले सेनाको मापदण्डअनुरूप भन्नेछ । उनको पछिल्लो भनाइ ‘म प्रधानमन्त्री हुँदा प्रचण्डले पटक-पटक तीनदेखि पाँच वा ६ हजारसम्म भनेका हुन्’ भन्ने छ । माओवादीभित्र पनि लडाकु समायोजनलाई लिएर सङ्ख्यात्मक कुराहरू नै सार्वजनिक हुने गरेका छन्, कसैले आठ हजार भन्छन् त कसैले कम्तीमा १० हजार, नेतापिच्छे फरकफरक कुरा छन् । यता मधेसी दलहरूको धारणा त माओवादी जतिसुकै हुन् मधेसीहरूलाई राख्नुपर्‍यो भन्ने मात्रै हो । यसरी हेर्दा माओवादी लडाकुका विषयमा अहिले जे-जस्ता कुरा नेतृत्व स्तरबाट बाहिर आएका छन् यसले सर्वसाधारणलाई भ्रमित बनाउने काम मात्रै गरेको छ । शिविरमै बसेका लडाकु र तिनका कमाण्डरहरू पनि नेतापिच्छेका मात्रै होइन नेताका मुडअनुसारका कुरा सुनेर बस्न बाध्य छन् । नेताका यी कुराका आधार कसका के हुन् भन्नेबारे हामीकहाँ खोजी र चासो दुवै नहुने भएकाले त्यतातिर कसैले ध्यान दिएको पनि छैन । सुशील कोइरालाद्वारा अघि सारिएको तीन हजारको कुरा भने भण्डारण गरिएका हतियारको सङ्ख्या तीन हजार रहेकाले एक हतियार एक सेना भन्ने छ । वास्तवमा माओवादी लडाकुको व्यवस्थापनका सन्दर्भमा सङ्ख्याभन्दा पनि मापदण्डचाहिँ ठूलो कुरा हो । सेनामा समायोजन गर्ने हो भने त्यसका लागि मापदण्ड के हो, प्रहरीमा भए के वा सशस्त्रमा भए कस्तो भन्ने कुराचाहिँ मुख्य कुरा हो । पहिला मापदण्ड निर्धारण गरेपछि सङ्ख्याको कुरा त आफैं तय हुने हो । १९ हजार ६ सय दुईजना लडाकुमध्ये तोकिएको मापदण्ड पूरा गरे पाँच हजार या १० हजार किन पूरै सङ्ख्यामा समायोजन हुन सक्छ, मापदण्ड नपुगे जतिको पुग्छ त्यतिको समायोजन हुन्छ । एउटा निश्चित मापदणड नतोकी यति सय वा हजार भन्नुको खासै अर्थ देखिँदैन । सुशील कोइरालाको तीन हजार हतियार तीन हजार सेना भन्ने कुरामा असहमति रहने ठाउँ प्रसस्त छ, यदि अहिले हतियार सङ्ख्याको आधारमा लडाकुलाई सेनामा समायोजन गर्ने हो भने भोलि हतियारको सङ्ख्या बढाएर विद्रोही बन्नेहरूको सङ्ख्या बढ्नेछ । अहिले नै पनि सानातिना सशस्त्र समूह धेरै छन् तिनलाई भोलि हतियार सङ्ख्याको आधारमा समायोजन गर्न थालिए यो मुलुकको सुरक्षाक्षेत्रको अवस्था कस्तो होला –
माओवादीले सशस्त्र युद्ध गरेको १० वर्ष र शान्तिप्रक्रियाका पाँच वर्षलाई जोड्दा यो १५ वर्ष माओवादी लडाकुका नाममा जीवन गुजारिरहेका ती नेपाली युवाको अवस्थालाई पनि हेर्नुपर्ने हुन्छ । आजभन्दा १५ वर्ष अगाडि माओवादी प्रवेश गर्दा २० वर्षको लक्का जवान अहिले ४० वर्ष पुगेको छ । मानिसको जीवनमा ४० वर्ष भनेको मध्य अवस्था हो जुन उमेरमा पुगेपछि मानिसले बिस्तारै आफू ‘सेटल’ भएको महसुस गर्छ । आफू व्यवस्थित हुने कुराभित्र आफ्नो ‘करियर’ वा कामको कुरा मात्रै नभएर व्यक्तिगत जीवन, परिवार, छोराछोरीलगायतका कुरा पनि पर्छन् । एकपल्ट यो पृथ्वीमा आएको मानिस मरेपछि फेरि कहिल्यै पनि त्यही रूपमा फर्किएर नआउने र कहिले मरिन्छ भन्ने कुनै ग्यारेन्टी पनि नहुने हुँदा सकेसम्म खुसी र व्यवस्थित जीवन बिताउने रहर हरेक व्यक्तिलाई हुने गर्छ । तर, माओवादी लडाकुको हकमा कुरा गर्ने हो भने अमूल्य जीवन उनीहरूले पार्टीको नाममा समर्पण गरेका छन । यसबीचमै व्यवस्थित हुनुपर्ने उनीहरूको पारिवारिक र व्यावसायिक जीवनको सुरुवात नै हुन पाएको छैन, शिविरभित्रै एक-अर्काबीच प्रेम भएर जतिको विवाह भयो या बच्चा जन्मिए त्यसलाई ‘व्यवस्थित’ भन्न मिल्दैन । जीवनका १० वर्षसम्म आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीका विरुद्ध हतियार भिराएर ‘डिस्ट्रक्टिभ’ मानसिकताबीच लामो समयसम्म शिविरमा राख्नुलाई मानवीय कार्य मान्न सकिन्न । माओवादीले मनले चाहेको भए शान्तिप्रक्रियाको अन्त्य सुरुका दुई वर्षमै भइसक्ने थियो भन्ने कुरा नबुझेको कसैले पनि छैन । यसरी हेर्दा लडाकुलाई शिविरमा राखेर माओवादीले अरू दलहरूसँग ‘बार्गेनिङ’ गर्न प्रयोग गरेकै हो । तर, हिजो जे भएको भए पनि ती सबै कुरालाई बिर्सिएर अब भने लडाकुको व्यवस्थापनमा अलिकति पनि ढिलो गर्न हुँदैन । समायोजनका क्रममा उनीहरूको चाहनालाई पहिलो प्राथमिकता दिइनुपर्छ । के थाहा हिजो बन्दुक बोक्दाको र अहिले शिविरमा बस्दाको जीन्दगीबाट दिक्क भएर उनीहरू आफ्नो स्वतन्त्र जीवन बाँच्न चाहन्छन् कि ? हिजो देश बनाउने सपनामा हतियार उठाएका उनीहरूमध्ये कतिलाई बाँकी रहेको जीवनको अलिकति समय एउटा सुरक्षाकर्मीका रूपमा साँघुरो परिधिभित्र बिताउन मन नलाग्ने पो हो कि ?