चीनको कार्बन उत्सर्जन नियन्त्रणका लागि सन् २०१८ को लक्ष्य पूरा गर्न चीन सफल भएको छ । कूल घरेलु उत्पादनको प्रति एकाइ कार्बन उत्सर्जन सन् २०१८ मा चार प्रतिशतले कटौती गर्न चीनलाई सफलता मिलेको सम्बद्ध चिनियाँ अधिकारीले बताएका छन् ।
चीनले सन् २०१८ का लागि ०.१ प्रतिशत कार्बन उत्सर्जन कटौती गर्ने लक्ष्य तय गरेको थियो ।
‘जलवायु परिवर्तनको सामना : चीनको नीति तथा कार्यसम्बन्धी २०१९ वार्षिक प्रतिवेदन’ लाई बुधबार सार्वजनिक गर्दै वातावरण उपमन्त्री चाउ यिङ मिनले सन् २०१८ देखि चीनको कार्बन उत्सर्जन न्यूनीकरण जारी राखिएको बताए भने भविष्यमा हरितगृह ग्यास निष्कासनलाई नियन्त्रण गर्दै जाने उनको भनाई थियो ।
भविष्यमा चीनले सकारात्मक भूमिका निर्वाह गर्ने, बहुपक्षीय प्रणाली प्रारूपको सुरक्षा गर्ने, विभिन्न पक्षसँग प्रयास गर्दै यस वर्ष संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन बैठकमा सकारात्मक सफलतालाई पेश गर्नेगरी काम गरिरहेको उपमन्त्री मिनलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
उनले भने– ‘चीनले सन् २००५ को तुलनामा सन् २०१८ मा प्रति एकाइ कार्बन उत्सर्जनको कूल घरेलु उत्पादनलाई ४५.८ प्रतिशतले कमी गरेको छ । यो कार्बन उत्सर्जनका लागि चीनले सन् २०२० सम्म ४० देखि ४५ प्रतिशत कम गर्ने गरी तय गरेको तालिकासँग मिल्छ ।’
तथ्याङ्कमा चीनले सन् २००५ पछि योजनाअनुसार पाँच अर्ब २६ करोड टन कम कार्बनडाइअक्साइड उत्सर्जन गरेको छ । चीनले गैर–खनिज इन्धनको उपभोग गत वर्षको अन्त्यसम्ममा १४.३ प्रतिशत पु¥याइएको चीनको दाबी छ ।
त्यस्तै चीनको नवीकरणीय ऊर्जा स्रोतबाट उत्पादन गरिएको ऊर्जा गत वर्ष २६.७ प्रतिशत पुगेको थियो । चीन जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न लिएको कार्बन उत्सर्जन नियन्त्रण र गरिबी निवारणका लागि लिएको अभियानमा शतप्रतिशत सफल रहेको मन्त्री चाउको दाबी छ ।
चीनले सन् २००९ देखि लगातार जलवायु परिवर्तनको सामनासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया