बोलिभियाद्वारा एघार वर्षपछि अमेरिकाका लागि राजदूत नियुक्त

बोलिभियाद्वारा एघार वर्षपछि अमेरिकाका लागि राजदूत नियुक्त


बोलिभियाले एघार वर्षपछि पहिलो पटक संयुक्त राज्य अमेरिकाका लागि राजदूत नियुक्त गरेको छ । यसपहिले संयुक्त राष्ट्रसङ्का लागि बोलिभियाको राजदूत र स्थायी प्रतिनिधिका रूपमा काम गरिसकेका वाल्टर ओस्कार सेराट सेउलारलाई बोलिभियाले अमेरिकाका लागि राजदूत नियुक्त गरेको त्यहाँको विदेश मन्त्रालयद्वारा ट्वीटरमार्फत जारी विज्ञप्तिमा उल्लेख छ ।

कामचलाउ सरकारले निवर्तमान राष्ट्रपति इभो मोरालेसको अनुपस्थितिमा नै निर्वाचन गर्ने तयारी गरिरहेका समय अमेरिकाका लागि राजदूतको नियुक्ति आएको हो ।

बोलिभियाको राष्ट्रपतिका लागि भएको निर्वाचनमा मोरालेस चौथो कार्यकालका लागि जितेपछि त्यहाँको प्रतिपक्षी दलले निर्वाचनमा धाँधली भएको भन्दै आन्दोलनमा उत्रिएको थियो । त्यसपछि झिनो मतले राष्ट्रपति विजय भएका मोरालेसले राष्ट्रपतिको पदबाट राजीनामा घोषणा गर्न बाध्य भएका थिए ।

पूर्वराष्ट्रपति मोरालेसले अक्टोबर १० मा पदबाट राजीनामा दिई मेक्सिकोमा शरण लिएका छन् । परिवर्तित राजनीतिक अवस्थामा अन्तरिम सरकारले देशको वैदेशिक नीतिलाई पुनरावलोकन गर्दै अमेरिकासँगको सम्बन्धलाई जोड्ने नीति लिएको हो ।

वाशिङ्टन र लापाजबीचको कूटनीतिक विवादपछि सन् २००८ मा अमेरिकाका लागि बोलिभियाली राजदूतलाई देश छाड्न अमेरिकाले निर्देशन दिएको थियो । बदलामा बोलिभियाले पनि अमेरिकी राजदूतलाई आफ्नो देश छोड्न आदेश दिएको थियो ।

समाजवादी नेता मोरालेसले बोलिभियामा करिब १४ वर्ष सत्ता चलाउने क्रममा अमेरिका र बोलिभियाबीचको सम्बन्धमा समस्या आएको थियो । अमेरिकाको सहयोग प्राप्त दक्षिणपन्थी धारकी सांसद जेयनाइन एनेजले मोरालेसको राजीनामापछि आफू राष्ट्रपति बनेको घोषणा आफैँले गरेकी थिइन् । एएफपीका अनुसार यसअघि बोलिभियाको राम्रो सम्बन्ध रहेका समाजवादी मुलुक क्युबा र भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोसँगको कूटनीतिक सम्बन्धलाई तोडिएको पनि घोषणा गरिसकेकी छिन् ।