जापानका पूर्वप्रधानमन्त्री यासुहिरो नाकासोनेको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । जापानका निकै लोकप्रिय नेताको छवि बनाएका नाकासोनेले आफ्नो कार्यकालमा संयुक्त राज्य अमेरिकासँग बलियो सैनिक गठबन्धन निर्माण गरेका थिए ।
सन् १९८२ देखि १९८७ सम्म पाँच वर्ष जापानको प्रधानमन्त्री रहेका नाकासोनेले रुस र अमेरिकाबीचको शीतयुद्धकालीन समयमा जापानलाई पश्चिमा राष्ट्रसँगको गठबन्धनमा उभ्याएका थिए । दोस्रो विश्वयुद्धपछि जापानलाई आर्थिक तथा सामरिक रूपमा बलियो राष्ट्र बनाउन नाकासोनेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग सुदृढ मैत्रीपूर्ण सम्बन्ध विकास गरेका नाकासोनेले जापानका लागि अमेरिका सदैव अति महत्वपूर्ण साझेदार मुलुक रहेको बताउने गर्थे ।
जापानको माथिल्लो सदनका सदस्यसमेत रहेका नाकासोनेका छोरा हिरोफुमी नाकासोनेको कार्यालयले आफ्ना बुबाको निधन भएको जानकारी दिएको हो । तर, उनले मृत्युको कारणबारे विस्तृत केही उल्लेख गरिएको छैन । पूर्वप्रधानमन्त्री नाकासोनेले दोस्रो विश्वयुद्धकालीन सम्झौताहरूमा फेरबदल गरी सैनिक प्रविधि अमेरिकालाई निर्यात गर्नुका साथै जापानको वार्षिक रक्षा बजेटको सीमालाई हटाएका थिए ।
रासस–एएफपी
प्रतिक्रिया