टमाटाले जोडे नेपालका लागि अर्को स्वर्ण

टमाटाले जोडे नेपालका लागि अर्को स्वर्ण


नेपालको स्वर्ण बढाउने क्रममा आज (१७ मंसिर) ट्राइयाथलनबाट हिमाल टमाटाले पुन अर्को स्वर्ण जोडेका छन् । नेपाल आर्मीसँग आवद्ध खेलाडी हिमाल टमाटाले ट्राइयाथलन अन्तर्गतको ५ किलोमिटर दौड, २० किलोमिटर साइकल दौड र पुनः २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । दोश्रो स्थानमा रहेका लक्ष्मण मल्लले उक्त दूरी ५९ मिनट १३ सेकेन्डमा साथ रजत र श्रीलङ्का असिथ परेरा ५९ मिनट ३२ सेकेन्डका साथ तेश्रो स्थानमा रहे ।

टमाटाले भारतको गुहाटीमा आयोजना भएको १२औं दक्षिण एशियाली खेलमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए ।

यस्तै नेपाली पदकलाई अग्रता प्रदान गर्ने क्रममा महिलातर्फ हुमी बुढामगरले उक्त दूरी १ घन्टा ८ मिनट ५४ सेकेन्डका साथ रजत पदक दिलाइन् । श्रीलङ्काकी इरानगा दुलाग्क्षी १ घन्टा ५ मिनट ५८ सेकेन्डका साथ स्वर्ण हात पार्न सफल भइन् । श्रीलङ्काकै उदया कुमारीले १ घन्टा ९ मिनट ०९ सेकेन्डमा साथ कास्य पाइन् ।

प्रतियोगितामा तीन देश भारत, श्रीलङ्का र नेपालका ६–६ खेलाडीको सहभागिता रहेको थियो ।

नेपालको यो सहित ट्राइयाथलनबाट २ स्वर्ण २ रजत र एक कास्य भएको छ । भोली अन्तिम दिन नेपालले मिस्क रिलेमा प्रतिस्पर्धा गर्ने छ । नेपाली खेलाडी सोनी गुरुङले इलाइट स्प्रिन्टमा स्वर्ण हात पारेकी थिइन् भने वसन्त थारुले कास्य पदक हासिल गरेका थिए ।

नेपाली खेलाडीहरुलाई उत्साहित बनाउन नेपाल ट्राइयाथलन संघका अध्यक्ष एवं दक्षिण एशियाली ट्राइयाथलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्वर्ण पदकका लागि १ लाख, रजतका लागि ५० हजार र कास्यका लागि २५ हजार नगद प्रदान गर्ने र टिम स्पर्धाका लागि पनि सोही पुरस्कार रहेको घोषणा गरे ।

नेपालले दक्षिण एशियाली गेममा सहभागिता जनाएको यो दोश्रोपटक हो । संघको स्थापनाको छोटो समयमै ट्राइयाथलनले राष्ट्रका लागि पदक दिलाउन सफल भएको छ । नेपालले सहभागिता जनाएको पहिलो दक्षिण एशियाली खेलकुद १२औं साग गुहाटीमा एक रजत र एक कास्य हात पार्न सफल भएको थियो । उक्त सागमा रुद्र कुमाल, हिमाल टमाटा, रोजा के.सी. र यामकुमारी घले सम्मिलित टिमले मिब्स रिलेमा रजत प्राप्त गरेका थिए । यस्तै पहिलो पटककै प्रयासमा ट्राइयाथलनबाट रोजा केसीले कास्य पदक प्राप्त गरेकी थिइन् ।