प्रहरी ज्यादतिको विरोधमा नेवि संघले जलायो प्रधानमन्त्रीको पुत्ला

प्रहरी ज्यादतिको विरोधमा नेवि संघले जलायो प्रधानमन्त्रीको पुत्ला


बाँकेको कोहलपुरमा स्कुले बालबालिकामाथि भएको प्रहरी ज्यादतिको विरोध गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । शान्ति सुरक्षामा प्रधानमन्त्री ओली चुकेको र स्कुले बालबालिकामाथि प्रहरीले अन्धाधुन्ध लाठी र गोली चलाउँदा पनि मुकदर्शक बनेको भन्दै संघले आज (२३ मंसिर) राजधानीको रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि पुत्ला जलाएको हो ।

नेवि संघका नेता–कार्यकर्ताले सरकार र प्रहरी प्रशासन विरुद्ध नाराबाजी गरेका थिए । बालबालिकामाथि लाठीचार्ज गर्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने, ट्रकचालकलाई कारबाही गर्नुपर्ने लगायतका माग विद्यार्थीहरुले लगाएका थिए ।

प्रहरी प्रशासनले सत्ताको दाश बनेर विद्यार्थी र सर्वसाधारण जनतालाई दुःख दिन लागेकाले आफूहरु प्रदर्शनमा उत्रिएको नेविसंघ आरआर क्याम्पसका इकाई सचिव अनुराग शाहले बताए । आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।