नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी कमिटी बैठक शुरु

नेकपा सचिवालय बैठक सम्पन्न, स्थायी कमिटी बैठक शुरु


सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसिरहेको छ । स्थायी कमिटी बैठकको एजेण्डाहरु आजै बिहान बसेको सचिवालय बैठकले तय गरेको छ । सचिवालय बैठक सम्पन्न भएलगत्तै स्थायी कमिटी बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले स्थायी कमिटीमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको अर्को बैठक र नेपाल भारतको सीमा बैठकलगायत विविध कार्यसूची तय गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली पनि केही समयका लागि उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य तीव्र रूपमा सुधार भइरहेको बैठकमा जानकारी गराएका थिए भने बैठकले राम्रो स्वास्थ्यप्रति खुशी प्रकट गर्दै प्रधानमन्त्रीको पूर्ण स्वास्थ्यलाभको कामना गरेको थियो ।

यसअघि यही मङ्सिर २३ गतेको सचिवालय बैठकले मङ्सिर २७ गते शुक्रबारका लागि बैठक तय गरे पनि स्थायी कमिटीको तयारीका कारण स्थगित गरिएको थियो । सोही कारण शनिबारको बैठकसमेत स्थगित भएको थियो । नेकपाका अध्यक्ष दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीलगायत नेताहरुसँग छलफल गरी स्थायी कमिटीमा पेश गर्ने दस्तावेज तयार गरेका बताइएको छ ।

मङ्सिर २३ को सचिवालय बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे सङ्गठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय गरेको थियो । उक्त बैठकले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउनेलगायत यसअघि सचिवालयले गरेका निर्णयलाई समावेश गरी विधान संंशोधनको प्रस्ताव आउँदो स्थायी कमिटी बैठक र आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने निर्णय पनि गरेको थियो ।

यसैगरी केन्द्रीय निकाय र विभागका सदस्यको पूर्णताका लागि सम्बन्धित प्रमुख र उपप्रमुखले सात दिनभित्र महासचिवमार्फत प्रस्ताव पेश गर्न सोही बैठकले आग्रह गरेको थियो । तर सचिवालयको आजको बैठकमा स्याथी कमिटीको एजेण्डाबाहेक अरू विषयमा प्रवेश नगरेको बुझिएको छ ।

यही मङ्सिर ४ गते बसेको सचिवालय बैठकले नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टीको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो । कार्यविभाजनपछि पार्टीको काममा अध्यक्ष दाहालको सक्रियता बढेको अनुभूति गरिएको छ ।

pict: rss