स्थायी कमिटी बैठकमा स्थानीय तहसम्मको एकतालाई पूर्णता दिन सुझाव

स्थायी कमिटी बैठकमा स्थानीय तहसम्मको एकतालाई पूर्णता दिन सुझाव


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरूले पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा गुनासो गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा मंगलबार बसेको स्थायी कमिटीको बैठकमा स्थानीय तहसम्मको एकता प्रक्रियालाई तत्काल पूर्णता दिई थप सुदृढीकरण गर्नुपर्नेमा नेताहरूले जोड दिएका हुन् । एकता प्रक्रियाले लामो समय लिँदा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको, सङ्गठन भद्रगोल हुँदा पार्टीले जीवन पाउन नसकेको नेताहरूको जोड थियो ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा पेश गरिएको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै स्थायी कमिटी सदस्यहरूले पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने र एकताका कुनै पनि काम बाँकी राख्न नहुने सुझाव दिएका हुन् । पार्टीको कार्ययोजना ठोस रूपमा आउनुपर्ने, एकता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझाव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सरकारको काम कारवाहीलाई अझै गति दिनुपर्ने र भए÷गरेका कामको समेत सकारात्मक प्रचारप्रसार गर्नुपर्ने प्रवक्ता श्रेष्ठलाई उद्धृत गर्दै राससले जनाएको छ ।

स्थायी कमिटीका सदस्यले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी बताए । उनका अनुसार मंगलबार १३ जना स्थायी कमिटी सदस्य तथा आमन्त्रित सदस्यले सुझाव दिएका थिए । यसरी सुझाव दिनेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शङ्कर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा थिए ।

नेकपा स्थायी कमिटीको अर्को बैठक बुधबार (२ पुस) बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।

pict:rss