नेकपा स्थायी कमिटीको बैठकमा विचार र आचरण सुधार गर्नुपर्ने सुझाव

नेकपा स्थायी कमिटीको बैठकमा विचार र आचरण सुधार गर्नुपर्ने सुझाव


सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक पार्टी अध्यक्ष कमरेड पुष्पकमल दाहालको अध्यक्षतामा आज (२ पुस) केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको छ । बैठकमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि स्थायी कमिटीका सदस्य र आमन्त्रित सदस्यहरुले विचार राख्नेक्रम आज पनि जारी रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

धेरैजसो नेताले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ–आफ्ना थप सुझावसहितका धारणाहरु राखेका बताइएको छ । यसक्रममा आज १२ जना नेताले सुझाव राखेका छन्, जसमा मातृका यादव, वर्षमान पुन, लिलामणि पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेल रहेका छन् ।

राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएबमोजिम पार्टीलाई व्यवस्थित गर्ने, संगठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीको आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयहरुमा आ–आफ्नो कोणबाट वक्ताहरु केन्द्रित रहेका प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थायी समितिको अर्को बैठक भोलि पुस ३ गते बिहान ११ बजे धुम्बाराही, काठमाडौंमा बस्ने जानकारी दिइएको छ ।