सत्तारुढ नेकपा र राजपाबीच ‘सहमति’

सत्तारुढ नेकपा र राजपाबीच ‘सहमति’


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताबीच आज (२ पुस) बालुवाटारमा वार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्री निवासमा भएको दुई पार्टीबीचको वार्तापछि आगामी माघ ९ गते हुने प्रदेश २ को राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष समूह र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति गरिएको छ ।

नेकपाका तर्फबाट प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ तथा राजपाका तर्फबाट महन्थ ठाकुर, संयोजक राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सम्मिलित सो छलफलबाट महिला र दलित पुरुष समूहको दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सहयोग गर्ने सहमति जुटेको बताइएको छ ।

यस्तै, दुई पार्टीबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमित रूपमा छलफल र सहकार्यको प्रक्रिया अघि बढाउने सहमति समेत भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।