कलेजले लिएको ज्यादा शुल्क खारेज गर्न अनेरास्ववियूको माग

कलेजले लिएको ज्यादा शुल्क खारेज गर्न अनेरास्ववियूको माग


कम्प्युटर साइन्स र सूचना प्रविधि कलेजले लिएको शुल्क ज्यादतिपूर्ण भएको भन्दै अनेरास्ववियूले छानविन गर्न सरकारसँग माग गरेको छ । अनेरास्ववियूका सहसंयोजक रञ्जीत तामाङले विज्ञप्ति जारी गर्दै ती कलेजले सरकारले तोकेको मापदण्डभन्दा बढी शुल्क लिएकाले छानविन गर्न आग्रह गरेका हुन् ।

बढी लिएको शुल्क खारेज गर्न र वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्न तामाङको माग छ । उनले कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजीका विद्यार्थीले गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ती विद्यार्थीको माग सम्बोधन गर्नसमेत आग्रह गरेका छन् ।

विद्यार्थीको जायज मागलाई अविलम्ब सम्बोधन गर्न सरकार, लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग लगायतका अन्य सम्बद्ध निकायसमक्ष माग तेर्स्याइएको हो ।

ज्ञातव्य छ, लोकसेवा आयोगलगायतका राज्यका अन्य विभिन्न निकायले गरेको विज्ञापनले आफूहरूलाई अन्यायमा पारेको, हालै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापक पदको परीक्षा त्रुटिपूर्ण भएको र सूचना प्रविधि शिक्षालाई व्यवस्थित गर्न आइटी काउन्सिल गठन गरिनुपर्ने लगायतका माग राख्दै कम्प्युटर साइन्स एण्ड इन्फर्मेसन टेक्नोलोजीका विद्यार्थीको आन्दोलन गरेका छन् ।

लोकसेवा आयोगले विगत वर्षमा सूचना प्रविधि क्षेत्रका विद्यार्थीलाई स्पष्ट रूपमा सम्बोधन गरेर विज्ञापन खुलाउने गरेको थियोे, तर यसपटक त्यो प्रावधान हटाइएको भन्दै अनेरास्ववियूले त्यसलाई तत्काल सच्याउनसमेत आग्रह गरेको छ ।