कञ्चनपुरबाट दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती खेलमा नेपालकै सबैभन्दा बढी महिला खेलाडी सहभागी भए । सो प्रतियोगिताको कुस्ती खेलमा पदक पनि सम्मानजनक ल्याउँदा कञ्चनपुरको खेलकुद जगतमा नयाँ इतिहास कायम भएको छ ।
विभिन्न सात तौल समूहमा नेपालको प्रतिनिधित्व गर्दै कुस्तीमा सहभागी महिला खेलाडीमध्ये ६ जना भीमदत्तनगरका सहभागी थिए । खेलमा सहभागी ६ मध्ये संगीता धामीले बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेर कुस्तीमा इतिहास रचिन् । बाँकी पाँचजना यहाँका महिला कुस्ती खेलाडीले पनि पदक दिलाएका छन् । ‘सबै खेलाडीले स्वदेशमै प्रशिक्षणमा जुटेर कडा मिहिनेत गरेकै परिणामले पदक ल्याए,’ कुस्तीका सहायक प्रशिक्षक राजेन्द्र्र चन्दले भने, ‘यो अहिलेसम्मकै ऐतिहासिक पदक हो ।’
त्यसैगरी महिला कुस्तीमा यहाँका शिवांगी दुबे, अम्बिका भण्डारी र निर्मला जागरी रजत पदक ल्याउन सफल भए । कञ्चनपुरकै कोमल खत्री र मनीषा सिंहले कांस्य पदक जितिन् भने पुरुषतर्फ सुदूरपश्चिम प्रदेशकै प्रतिनिधित्व गरेका कञ्चनपुरका सुरेश चुनाराले पनि कांस्य पदक हात पार्न सफल भए । ‘महिलातर्फ पदक ल्याउने सबै खेलाडी नयाँ नै हुन्,’ कुस्ती प्रशिक्षक चन्दले भने, ‘अन्तर्राष्ट्रियस्तरको पहिलो सहभागितामै पदक ल्याउनु सामान्य विषय होइन ।’
उनले कञ्चनपुरमा कुस्तीका लागि आवश्यक हल र खेल सामग्रीबिनै खेलाडी अन्तर्राष्ट्रियस्तरसम्म पुगेकोमा हर्षित रहेको बताए । बृहत् आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा यहाँका महिला खेलाडीले देखाएको प्रदर्शनले नै सागमा पदकविहीन हुनुपर्दैन भन्ने लागेको थियो ।’ उनले भने, ‘संगीताको स्वर्ण नेपालकै कुस्ती इतिहासमा पहिलो भएको छ ।’
त्यसैगरी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्ट पनि सागमा यहाँका खेलाडीले ल्याएको पदक र देखाएको प्रदर्शनले सन्तुष्ट छन । ‘सागमा यसअघि पनि यहाँका खेलाडीले पदक ल्याएकै हुन्,’ पदकविजेताको तथ्यांक संकलन गरिरहेका कार्यालय प्रमुख भट्टले भने, ‘यो पदक हालसम्मकै बढी हो ।’ जिल्ला खेलकुद विकास समितिका अनुसार कञ्चनपुरका खेलाडीले चार स्वर्णसहित १८ पदक ल्याएका छन् । कुस्तीमा संगीता धामी, तेक्वान्दोमा वीरबहादुर महरा, उसुमा करनसिंह साउद र ट्राइथलनमा हिमाल टमटाले स्वर्ण जितेका हुन् ।
त्यसैगरी भारोत्तोलनमा यहाँका खेलाडी विशालसिंह विष्ट र सागर भण्डारीले रजत पदक जितेको खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले बताए । करातेका डिगम्बर पन्तले कांस्य, तेक्वान्दोका मनोज मल्ल, फेन्सिङका रमा सिंह र दीपक पाण्डेयले कांस्य जिते । कुस्तीमा कोमल खत्री, मनीषा सिंह र ब्याडमिन्टनमा दिपेश धामीले कांस्य पदक दिलाए ।
त्यसैगरी समूह खेलमा रजत प्राप्त गर्न सफल महिला भलिबल टिममा पनि कञ्चनपुरका पुनम चन्द र उषा विष्ट सहभागी थिए भने कबड्डी महिलामा पनि जयन्ती बडू, हरिना थापा, मानमती विष्ट, गंगा धामी र रविना चौधरी सहभागी रहेको कबड्डीका सहायक प्रशिक्षक विष्णुदत्त भट्टले बताए ।
त्यसैगरी सागमा सहभागी क्रिकेटमा पनि यहाँका खेलाडी सहभागी थिए । क्रिकेटमा डल्ली भट्ट, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी टिममा रहे । नेपालको खोखो महिला तथा पुरुष टिममा पनि कञ्चनपुरका खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
खोखोमा महिलातर्फ पूजा ओड र मानमती धामी तथा पुरुष टिममा सन्तोष बोहरा सहभागी थिए । ‘यसअघि सागमा तेक्वान्दोमा चारपटक स्वर्ण जितेर कीर्तिमान बनाएका दीपक विष्ट पनि कञ्चनपुरकै हुन्,’ तेक्वान्दो प्रशिक्षक मोहनप्रताव गुरुङले भने, ‘यसपटक थप यहाँका चारजना खेलाडीले स्वर्ण भित्र्याए ।’
पदकविजेता खेलाडीलाई यहाँका स्थानीय तहले नगदसहित सम्मान गरिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले पनि यहाँका पदकविजेता खेलाडीलाई सम्मान गर्ने घोषणा गरेको छ । ‘गृहनगरको सम्मानले खेलाडीको मनोबल उच्च हुन्छ,’ कुस्तीमा पदकविजेता खेलाडी सुरेश चुनाराले भने, ‘अब सुदूरपश्चिमको खेल संरचना निर्माणमा पनि यहाँ जोड दिनुपर्ने अवस्था आएको छ ।’
यसअघिका साग प्रतियोगितामा तेक्वान्दो, बक्सिङ, भारोत्तोलनलगायतका खेलका खेलाडीले पदक ल्याएका थिए । पाँचांँ साग खेलकुद प्रतियोगितामा कांस्य पदक जितेका कञ्चनपुर भारोत्तोलनका सहायक प्रशिक्षक जीवन गौतमले झन्डै १९ वर्षपछि कञ्चनपुरका दुई खेलाडीले भारोत्तोलनमा दुई रजत ल्याएको बताए ।
‘मेरो पदकपछि मेरै प्रशिक्षार्थीले अहिले मेडल ल्याए,’ गौतमले भने, ‘खेलकुद प्रतियोगिताका बेला तातेर मात्रै हुँदैन, अरू बेला पनि खेलाडीको सुविधाका लागि जिल्लादेखि प्रदेश सरकारको ध्यान जानु आवश्यक छ ।’
रासस
प्रतिक्रिया